विपिनको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा



विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव इजरायलको तेल अवीवस्थित विमानस्थलमा श्रद्धाञ्जली सभा गरी नेपाल पठाउन तयारी गरिएको छ।

इजरायली अधिकारीहरूले विपिनको मृत्यु पुष्टि गरेका छन् र शवको डीएनए परीक्षणबाट उनको पहिचान भएको छ भने फरेन्सिक जाँचले अपहरण भएताकै मृत्यु देखाएको छ।
शव सोमबार फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइनेछ र प्रधानमन्त्री, मन्त्री तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरेका छन्।
२ कात्तिक, काठमाडौं । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ ।

इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका हुन् ।

इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरू भावविह्वल देखिन्छन् । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी देखिन्छन् ।

पढ्दै कमाउने सपना बोकेर इजरायल पुगेका जोशीको हालै मृत्यु पुष्टि भएपछि घटनाले समग्र नेपालीजनमा पीडा दिएको छ । जोशीको शव भोलि सोमबार नेपाल ल्याउने तयारी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइनेछ ।

सो विमान सोमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

सम्बन्धित समाचार