संरक्षणको पर्खाईमा कप्दाने पोखरी




संखुवासभा । जिल्लाको मत्यस्यपोखरी र दिदिङ गाविसको सिमानामा पर्ने ऐतिहासिक महत्व बोकेको कप्दाने पाखरीको महत्व गुम्ने सम्भावना बढेको छ । पर्यटकीय क्षेत्रको समेत उच्च सम्भावना बोकेको उक्त पोखरीको संरक्षणको अभावमा महत्व गुम्ने सम्भावना बढेको हो ।

नेपाल भोट युद्धको समयमा नेपाल तर्फका लडाकुहरु भोट क्षेत्रमा युद्ध गर्न जाँदा बोक्न नसकेका आफ्नो युद्ध सामग्रीहरु खाल्डो खनेर छोडेको तर युद्ध पछि फर्केर आउदा ति खाल्डोमा आफ्ना सामग्रीहरु पुरै पुरिएर पोखरी बनेको किम्बदन्ती छ । अत्यन्तै गहिरो पोखरी भित्र आफ्ना सामनहरु पुरिएपछि निकाल्न नसकेको र सोहि समयदेखि हालसम्म पानी नसुकेको जानकारहरुले बताएका छन् ।

तर अहिले संरक्षणको अभावमा उक्त पोखरी पुरिन थालेको छ । वरिपरि झारले छोपेको र माटोले पुरिदा पोखरीको क्षेत्रफल समेत सानो हुँदै गएको छ । पोखरी वरिपरि माटोको दलदल भएकोले भासिने डरका कारण कोहि पनि पोखरी जजिक जान नसकेको स्थानीय सुनाबुटी शेर्पाले बताउनुभयो । ‘निक्कै गहिरो छ भन्थे, नजिक गयो भने माटो भासिएर पुरिने डर हुन्छ’ शेर्पाले भन्नुभयो ।

पहिले पोखरी ठुलो भएपनि पछिल्लो समय माटो र झारपातले भरिदै जाँदा पोखरीको आकार नै सानो हुँदै गएको अर्का स्थानीय ङिमादोर्ची शेर्पाले बताउनुभयो । यही तरिकाले हो भने एक दिन पोखरीको नाम निशाना हराउने स्थानीय शेर्पाले चिन्ता ब्यक्त गर्नुभयो । उक्त पोखरीको संरक्षणमा स्थानीय नै लाग्नु पर्ने समेत शेर्पाले विचार ब्यक्त गर्नुभयो ।

‘केहि बर्ष अघिसम्म करिब दुई रोपनी क्षेत्रफल जमिन पानीले ढाकेको थियो तर आजभोली एक रोपनी क्षेत्रफलमा पनि पानी छैन जस्तो छ’ स्थानीय सुनाबुटी शेर्पाले भन्नुभयो । उक्त पोखरीको संरक्षणमा स्थानीय नागरिकका साथै अन्य सम्बन्धीत निकायको पनि ध्यान जानुपर्ने स्थानीय शेर्पाको भनाई छ ।

उक्त पोखरीसँगै विभिन्न देवी देवताहरुको मन्दिर समेत छ । सो मन्दिर परिषरमा शिबरात्री र बैशाखे पुर्णिमाको बेला मेला लाग्ने गरेको छ । पोखरी र मन्दिर जंगलभित्र रहेको र सो जंगलमा नेपाल बाहिरका चराहरु समेत बसाई सरेर आउने गरेको वातावरण विद् तिर्थबहादुर श्रेष्ठले बताउनुभयो । सो जंगल मकालु बरुण राष्ट्रिय निकुञ्जसँग जोडिएकोले अन्य बन्यजन्तुहरु समेत आउने गरेको वातावरण विद् श्रेष्ठको भनाई छ । उक्त जंगलमा साईप्रसबाट समेत केहि समयको लागि चराचुरुङ्गीहरु आउने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न प्रकारका चराचुरुङ्गीहरु पाईने, पोखरीमा ठुला खालका भ्यागुत्ताहरु पाईने र धार्मीक मन्दिरहरु समेत रहेकोले त्यस क्षेत्र पर्यटकिय क्षेत्रको रुपमा विकशित गर्न सकिने संखुवासभा पर्यटन विकास केन्द्रका सचिब गंगा विष्टले बताउनुभयो । ‘त्यस क्षेत्रबाट मकालु हिमाल, नजिकै रहेको मत्स्यपोखरी लागायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न सकिने हुँदा राम्रो पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ’ सचिव विष्टले भन्नुभयो । मानव बस्तिको तिब्र विकाससँगै चराचुरुङ्गीहरुको संख्या घट्दै गएकोले यस विषयमा बेलैमा सचेत सहनु पर्ने सचिव विष्टको भनाई छ ।

सम्बन्धित समाचार