बोनम्यारो रोगका ८ लक्षण, यसरी हुन्छ प्रत्यारोपण




बोनम्यारोलाई नेपालीमा रक्तमासी भनिन्छ । शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष (आरबिसी), सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्छ बोनम्यारोको रोग विशेषगरी दुई तरिकाले लाग्छ । एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर । यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बन्नु पर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन । यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । एप्लास्टिक एनिमिया पनि दुई किसिमको हुन्छ ।

जन्मजात हुने एप्लास्टिक एनिमिया

जन्मजात हुने एप्लास्टिक एनिमियालाई मेडिकल भाषामा कन्स्टिट्युसनल एप्लास्टिक एनिमिया भनिन्छ । यो समस्या भएकाहरुमा किड्नी खराब हुने, किड्नी जोडिएको हुने, औँलाहरु ६ वटाभन्दा बढी हुने, जन्मजात शरीरमा दाग देखिने, मुख वरिपरि कालो हुने, गिजा पछाडिको भाग माथि उठ्ने, मुटुमा समस्या आउने र केहीकेहीमा छालामा समस्या देखिने हुन्छ ।

जन्मपछि हुने एप्लास्टिक एनिमिया

जन्मिसकेपछि बोनम्यारो सुक्नुलाई एक्वार्ड एप्लास्टिक एनिमिया भनिन्छ । नेपालमा एप्लास्टिक एनिमिया हुने धेरैलाई यही समस्या हुने गरेको पाइन्छ । सिभिल अस्पतालमा दैनिक कम्तिमा पाँचदेखि ७ जना एक्वार्ड एप्लास्टिक एनिमिया भएका बिरामी आउने गरेका छन् ।

एप्लास्टिक एनिमियामा आफ्नै शरीरले बोनम्यारोभित्र हुने रगत बनाउने सिस्टम सेलुलाई बिगारिदिन्छ । रबर, सिमेन्ट, पेट्रोल फ्याक्ट्रीबाट उत्पन्न हुने बेन्जिनु भन्ने तत्वको सम्पर्कमा लामो समयसम्म रहेमा वा काम गरेमा पनि एप्लास्टिक एनिमिया हुनेगर्छ । त्यस्तै, हेपाटाइटिस वा भाइरल इन्फेक्सनका कारण पनि यो समस्या हुन सक्छ । त्यस्तै, कहिलेकाहीँ औषधिको प्रयोगले समेत एप्लास्टिक एनिमियाको समस्या देखिन्छ । यो समस्या भएमा स्वाँस्वाँ हुने, छिटो थाक्ने, संक्रमण चाँडो फैलिने, पिनास हुने, निमोनिया हुने, नाक, मुख र दिसाबाट रगत जाने र केहीमा दिमागमा पनि रगत बग्ने समस्या हुन सक्छ ।

एप्लास्टिक एनिमिया भएको समयमै पत्ता लाग्यो र बोनम्यारो प्रत्यारोपण गरियो भने उमेर अनुसार ६० देखि ९० प्रतिशतलाई निको पार्न सकिन्छ । बोनम्यारो प्रत्यारोपण उमेर अनुसार फरक पर्छ । २० वर्षभन्दा मुनिकालाई ९० प्रतिशत निको हुने सम्भावना रहन्छ। ३० वर्ष माथिकालाई ६० प्रतिशत मात्र निको पार्न सकिन्छ । जति उमेर बढ्दै गयो त्यति प्रत्यारोपणमा जटिलताहरु थपिँदै जान्छन् । प्रत्यारोपण गरिएको बोनम्यारोले काम नगर्ने हुन सक्छ भने प्रत्यारोपणमा प्रयोग हुने औषधिहरुले टक्सिसिटी बढाउन सक्छ । बर्सेनि एप्लास्टिक एनिमिया भएका एक सय जनाको प्रत्यारोपण नगरी सामान्य उपचार मात्र गर्ने हो भने ३५ जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ । यो संख्या हरेक वर्ष बढ्दै जाँदैछ ।

रक्त क्यान्सर

सबै रक्त क्यान्सरलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्दैन । जुन रक्त क्यान्सरलाई किमोथेरापीबाट उपचार गर्न सकिँदैन वा उपचार गरिसकेपछि रोग फेरि बल्झिएको अवस्थामा बोनम्यारो प्रत्यारोपण अनिवार्य गर्नुपर्ने हुन्छ ।

थाइलेसेमिया

हेमोग्लोविन बन्नका लागि ग्लोविन भन्ने प्रोटिनको जरुरत पर्छ । प्रोटिन नै नबनेमा वा बन्ने प्रक्रियामा त्रृटि भएमा थाइलेसेमिया हुन्छ । यसमा चाहिँ जन्मेको तीन महिनादेखि बच्चालाई रगत चढाएर राख्नुपर्ने हुन्छ । यो रोग लागेमा विस्तारै बच्चाको फियो ठूलो हुँदै जान्छ, कलेजो ठूलो हुन्छ, अनुहारको आकार परिवर्तन हुँदै जान्छ, बच्चाको उचाइ बढ्दैन । यो रोगका लागि बोनम्यारो प्रत्यारोपणबाहेक अर्को विकल्प छैन । मेरो अनुभवमा यो रोग लागेका बिरामी हाम्रो देशमा ३५ वर्षभन्दा बढी बाँचेका छैनन् । त्यसकारण यो रोग भयानक हुँदाहुँदै पनि राज्यको ध्यान यसतर्फ अझै पुग्न सकेको छैन । तर थाइलेसेमिया भएका बिरामीको समयमै बोनम्यारो प्रत्यारोपण भएमा एक सय जनामध्ये ९० जनालाई बचाउन सकिन्छ ।

के हो बोनम्यारो प्रत्यारोपण

बोनम्यारो प्रत्यारोपणमा शरीरको कुनै अङ्ग नै झिक्ने, चिरफार गर्ने हुँदैन । यो भनेको सुइबाट रगत झिक्ने वा बोनम्यारो झिक्ने र सुइबाटै राख्ने विधि हो । बोनम्यारोलाई धेरैले अङ्ग प्रत्यारोपणजस्तै बुझ्ने गरेका छन् । तर, बोनम्यारो प्रत्यारोपण र अङ्ग प्रत्यारोपण फरक कुरा हो। बोनम्यारो प्रत्यारोपण गर्दा वा झिक्दा बिरामीलाई बेहोस पार्ने वा शल्यक्रिया गर्नुपर्ने हुँदैन । बोनम्यारो प्रत्यारोपण विशेष गरी दुई तरिकाले गरिन्छ ।

बिरामीलाई आफ्नै बोनम्यारो प्रत्यारोपण गर्ने

यदि, बिरामीलाई क्यान्सर छ भने सुरुमा क्यान्सर निको पार्न किमो दिइन्छ । किमोपछि बिरामीको क्यान्सर नदेखिएपछि बिरामीको बोनम्यारो झिकिन्छ र बोनम्यारोलाई विशेष विधिबाट ल्याबमा राखिन्छ । यसलाई माइनस १८० डिग्री सेन्टिग्रेडमा राखिन्छ । त्यसपछि हाइडोज किमो दिइन्छ र शरीरमा भएका सबै बोनम्यारोलाई सुकाइन्छ । त्यसपछि, नयाँ बोनम्यारो प्रत्यारोपण गरिन्छ र त्यसले १४ देखि २१ दिनपछि रगत बनाउन थाल्छ ।

स्वस्थ मानिसको बोनम्यारो बिरामीलाई दिने

स्वस्थ मानिसको बोनम्यारो बिरामीलाई दिनुअघि एचएलए टाइपिङ भन्ने जाँच गर्नुपर्छ । एचएलए जाँच मिलेको खण्डमा मात्र प्रत्यारोपण गर्न मिल्छ । आफ्नै दाजुभाइ-दिदिबहिनीको एचएलए मिल्न सक्ने सम्भावना २५ प्रतिशत मात्र हुन्छ।

बोनम्यारो दिने व्यक्तिलाई खासै केही समस्या हुँदैन । बोनम्यारो दुई तरिकाले झिकिन्छ। एउटा सिधै हड्डीबाट सियो छिराएर झिकिन्छ र अर्को रगतबाट झिकिन्छ । रगतबाट झिक्दा स्पेसल मेसिनबाट बोनम्यारोमा हुने कोष बाहिर झिकिन्छ र बिरामीमा त्यो कोष प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गर्दा १४ देखि २१ दिनपछि रगत बन्न सुरु गर्छ ।

यो विधिबाट प्रत्यारोपण गर्दा हुने चुनौती भनेको प्रत्यारोपण गरिएको बोनम्यारोलाई बिरामीको शरीरले नचिन्न सक्छ र प्रत्यारोपण गरेको म्यारोलाई शरीरले मारिदिन्छ । अथवा, प्रत्यारोपण गरेको बोनम्यारोले बिरामीको शरीरलाई नचिनेर छाला, कलेजो र आन्द्रालाई हानी पुर्‍याएर बिरामीको ज्यानै पनि जान सक्छ । अरुको बोनम्यारो प्रत्यारोपण गरेको हुनाले बिरामीले इम्युनो सप्रेसिभ मेडिसिनु कम्तिमा ६ महिना खानुपर्ने हुन्छ ।

बोनम्यारो प्रत्यारोपणले एप्लास्टिक एनिमिया र थाइलेसेमियाका रोगीलाई एकदमै राम्रो नतिजा दिएको छ । तर, क्यान्सरका बिरामीलाई भने ठिक हुने सम्भावना जम्मा ३० देखि ५० प्रतिशत मात्र हुने गरेको छ ।

बोनम्यारोमा हुने रोगका लक्षण

१. ठूलो जोर्नीहरु दुख्ने ।

२.  दुखाइसँगै शरीरमा निलो डामहरु देखिने ।

३.  नाक, मुख, गिजा आदिबाट रगत बग्ने ।

४.  पिनास हुने ।

५.  दिसा पिसाब गर्ने अंगमा घाउ हुने ।

६.  पटक पटक निमोनिया भइरहने ।

७.  रातो रगत कम भएर स्वाँस्वाँ बढ्ने ।

८.  जिउ गल्नेरथाक्ने ।

(रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. पौड्याल सिभिल अस्पतालमा कार्यरत छन्)

सम्बन्धित समाचार