९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए



५ जेठ, काठमाडौं । पहिलो चरणमा स्थानीय निर्वाचन भएका २८३ स्थानीय तहमध्ये ४ महानगरपालिका र ९२ नगरपालिकामा महिला कतिजना प्रमुख निर्वाचित होलान् रु भरतपुरमा रेणु दाहाल बाहेक महानगरपालिकामा मेयर जित्ने सम्भावना भएका कुनै पनि दलले महिला उम्मेदवार दिएका छैनन् ।

पोखरामा राप्रपाकी गीता गुरुङ मेयरको प्रतिस्पर्धामा धेरै पछाडि परिसकेकी छन् । काठमाडौंमा विवेकशील दलकी रन्जु दर्शना तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेकी छन् । पहिलो चरणमा निर्वाचन भएको एकमात्र उपमहानगरपालिका हेटौंडामा पुरुषबीच नै प्रतिस्पर्धा भइरहेको छ ।

९२ नगरपालिकामध्ये मेयर जित्ने महिला तीनजनामात्र भएका छन् । पुरुषसँग प्रतिस्पर्धा गरेर मेयर जित्ने महिलामा जुम्ला चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल, नवलपरासी कावासोती नगरपालिकाकी चन्द्रा पुन र स्याङ्जा पुतलीबजारकी सीमी क्षेत्री हुन् । यी मध्ये चन्द्रा पुन र सीमा क्षेत्री एमालेका हुन् भने कान्तिका सेजुवाल कांग्रेसकी हुन् । मेयरको प्रतिस्पर्धामा रहेका केही महिलाहरु बिजयी हुन सकेनन् ।

चन्द्रा पुन, कावासोती नगरपालिका मेयर

नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा निर्वाचित चन्द्रा पुन संघर्षशील महिला नेतृ हुन् । मधेसी, थारु र पहाडे मिश्रति बसोबास रहेको कावासोती जस्तो ठूलो नगरपालिकामा मेयर जित्न उनले निकै कठिन प्रतिस्पर्धा गरिन् ।

राजनीतिमा लागेर निरन्तर महिला आन्दोलनको अगुवाई गरेकी पुन अविवाहित हुन् । उनको इमान्दारिता, निरन्तरता र पार्टीमा क्रियाशीलता नै मेयर जित्ने आधार बन्यो । चन्द्राले १३ हजार ४१ मत प्राप्त गरी कांग्रेसका महेन्द्र पोखरेललाई पराजित गरेकी हुन् ।

सीमा क्षेत्री, पुतलीबजार नगरपालिका मेयर

स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरमा निर्वाचित सीमा क्षेत्री पनि संघर्षशील महिला नेतृ हुन् । उनी शिक्षकबाट अवकाश भएपछि एमालेको राजनीतिमा सक्रिय भएकी हुन् । शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष समेत भइसकेकी क्षेत्री अहिले एमालेको प्रदेश कमिटी सदस्य छिन् ।

उनले १० हजार २४९ मत प्राप्त गरेर पुतलीबजार नगरपालिकाको मेयर जित्दा कांग्रेसका प्रभावशाली नेता तुलसीराम रेग्मी १० हजार २० मतमा रोकिए ।

कान्तिका सेजुवाल, चन्दननाथ नगरपालिका मेयर

कर्णाली जस्तो पिछडिएको क्षेत्रबाट मेयर निर्वाचित भएकी कान्तिका सेजुवाल पनि अहिले चर्चामा छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित कान्तिका सेजुवाल कांग्रेसका पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी हुन् । जुम्लाका लोकप्रिय नेता सेजुवालको विमान दुर्घटनामा मृत्यु भएको थियो ।

कान्तिकाले चन्दननाथ नगरपालिकाको मेयरमा २ हजार ७७७ मत प्राप्त गरी एमालेका शान्तिलाल महतलाई पराजित गरेकी हुन् । नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई सिफारिस गरेपनि कांग्रेस केन्द्रीय कार्यालयले कान्तिका सेजुवाललाई टिकट दिएको थियो । त्यसविरुद्ध जुम्लामा विरोध प्रदर्शन भएको थियो ।

सम्बन्धित समाचार