युरोपमा कार्यरत पत्रकारहरुको अन्तरकृया कार्यक्रम पोर्चुगलमा सम्पन्न



लिस्वन । नेपाल पत्रकार महासंघ, युरोप शाखाले पोर्चुगलको लिस्बनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शाखाले नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा ‘युरोपमा नेपाली पत्रकारिता: केन्द्र-शाखाबीचको सम्बन्ध र भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

युरोपमा रहेका नेपाली पत्रकारहरुको सहभागिता रहेको कार्यक्रम विदेशमा गरिने पत्रकारिता, यसका चुनौति र अवसरहरुको विषयमा गहन बहस भएको थियो । अनियन्त्रित सामाजिक सञ्जालको प्रभावकारिता बढिरहेको र ती सञ्जालहरुमा पोष्ट गरिने तथ्यविहीन सामाग्री समाजमा नकरात्मक सन्देश फैलाइ रहेकोमा उपस्थित पत्रकारहरुले चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले विदेशमा रहेर नेपाली पत्रकारिताले प्रवासमा रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले पत्रकारितामा सधैं तथ्यमा आधारित भएर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो।

उहाँले राज्यको कानुनअनुसार विधिवत् दर्ता भएका संस्थामार्फत सञ्चालित माध्यमहरूलाई मात्र आधिकारिक मिडियाको मान्यता हुने र त्यहाँ आबद्ध सञ्चारकर्मीहरू नै वास्तविक पत्रकार भएको उल्लेख गर्नुभयो। अध्यक्ष शर्माले देश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारलाई एउटै छातामुनि समेट्न महासंघ सक्रिय रहेको पनि बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका युरोप शाखाका उपाध्यक्ष बासु सत्यालले विदेशमा रहेका नेपाली पत्रकारहरूले सञ्चार माध्यममार्फत नेपाली समुदायबीच सकारात्मक समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको धारणा राख्नुभयो। कार्यक्रमको सञ्चालन मुना सुनुवारले गर्नुभएको थियो भने रमेशराज बास्तोलाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित समाचार