भरत कुलुङका पाँच मुक्तकहरु




भोजपुरमा जन्मिएका भरत कुलुङ हाल सङ्खुवासभा खाँदबारीका स्थायी वासिन्दा हुन् । उनी खाँदबारी स्थीत हिमालय माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक समेत हुन् । सङ्खुवासभामा स्थापित मकालु साहित्य समाजका सचिव भएर साहित्यीक कार्यमा संलग्न उनी पछिल्लो समय रेडियो सङ्खुवासभामा साहित्यीक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् । उनै कुलुङका पाँच मुक्तकहरु यहाँ प्रस्तुत गरिएको छ ।

मुक्तक १
लिखितम मलाई घायल पार्ने तिम्रै नजर हो,
मुस्कानको बाण हानेर मार्ने पनि तिम्रै अधर हो,
झुठा ठहरे म कानुन बमोजिम सहुँला बुझुँला,
मेरो दिल चोरेर तिमिले लगेको ब्यहोरा सदर हो।

000

मुक्तक २
न कसैको आँशु हेर्ने आँट छ,
न हाँसो नै ल्याउने औकात छ,
थोरै मान्छेको ब्यथा हेर्न यहाँ
रमितेहरूको ठूलै जमात छ।

000

मुक्तक ३
मुक्त हुनुपर्छ नारीहरू छाउपडीको गोठबाट,
मानविय मुस्कान छुटोस बादीहरूको ओठबाट,
मार्च आठमा भाषण मात्र गर्ने हो कि काम पनि ?
पछि हट्नु हुन्न नारी सशक्तीकरणको अठोटबाट।

000

मुक्तक ४
सानो पंक्षी ठूलो आकाश रोज्नु सपना मेरै गलत थियो,
आफ्नो सामार्थ्य चिन्न नसक्ने भावना मेरैे गलत थियो,
निर्दोष रहेछ्यौ तिमी, दोषी त मेरा नजरहरू रहेछन्
ढुङ्गाको मुर्तिमा मुटु खोज्ने चाहना मेरै गलत थियो।

000

मुक्तक ५
कोरी हेर्छु मुटुको चित्र कोरीसक्दा तिम्रै अनुहार बन्छ,
निदाउनु हुन्न कतै हृदयमा तिम्रै आँखाको आकार बन्छ,
किन उम्कीन सकेनन् मभित्र बाट तिम्रा छाँयाहरू ?
भुल्न खोज्यो तिमीलाई झन् मेरै मुटु मैलाई भार हुन्छ।

सम्बन्धित समाचार