एजेन्सी । चीनमा एक युवतीलाई रक्सी बनाउनका लागि मगाएको सर्पले टोकेपछि मृत्यु भएको छ । घटना उत्तरी जिल्ला शान्शीको हो । युवतीले पारम्परिक ‘स्नेक वाइन’ बनाउनका लागि अनलाइनमार्फत सर्प मगाएकी थिइन् ।
२१ वर्षीया युवतीको करेत सर्पले टोकेपछि अघिल्लो मंगलबार मृत्यु भएको हो । उनको मृत्यु भएको आठ दिनपछि सिन्ह्वाले यसबारे जानकारी दिए ।
स्रोतका अनुसार उनले झुआनझुआन नामको अनलाइन पोर्टलबाट उक्त सर्प मगाएकी थिइन् । उक्त अनलाईनमा चीनको दिग्गज कम्पनी टेन्सेन्टले लगानी गरेको छ । दक्षिणी जिल्ला गुआन्डोंगबाट एक बिक्रेताले उक्त सर्प पठाएको थियो । उक्त जिल्लामा यो सर्प निकै पाइन्छन् । सर्पलाई ती युवतीको घरसम्म पुर्याउने स्थानीय कुरियर कम्पनीले आफूलाई डब्बा भित्र के थियो भन्ने थाहा नभएको बताए ।
युवतीकी आमा सिन्ह्वालाई दिएको जानकारी अनुसार उनकी छोरीले पारम्परिक रक्सी बनाउनका लागि सर्प मगाएकी थिइन् । यस्तो रक्सी औषधीय गुणले भरपुर हुने बताइएको छ ।
मिडिया रिपोर्टले युवतीलाई टोकेपछि सर्प भागेको बताएको छ भने वन विभागका अधिकारीले सर्पलाई युवतीको घर बाहिरबाट समातेको बताएका छन् । घटनापछि जंगली जीवको अनलाइन बिक्रीमा रोक लगाइएको छ । कम्पनीले यस्तो प्रकारको विज्ञापन पनि हटाएको छ ।
प्रतिक्रिया