डेंगु रोगको प्रकोप फैलिएपछि धरानमा पर्यटक घटे



धरान । डेंगु रोगको प्रकोप फैलिएपछि धरानमा पर्यटक आगमन घटेको छ। तीन महिना अघिदेखि सुनसरीको धरानमा फैलिएको डेंगु रोगको प्रकोप नियन्त्रणमा लापरबाही हुँदा संक्रमण अझै रोकिएको छैन। तीनैतहका सरकारले धरानमा प्रकोपका रूपमा फैलिएको डेंगु रोग नियन्त्रणमा चासो नदेखाएपछि समस्या चुलिएको छ। यसको असर पर्यटन व्यवसायमा समेत देखिएको छ।

डेंगुकै कारण बाहिय पर्यटक धरान आउन छाडेका छन्। पर्यटकको आवागमनसमेत ठप्प भएका कारण धरानको होटल व्यवसाय संकटमा परेको नवयुग होटलका सञ्चालक प्रमेश श्रेष्ठको गुनासोे छ।

हालसम्म धरानका सरकारी, निजी अस्पताल र क्लिनिकको तथ्यांकअनुसार धरानमा आठ हजारभन्दा बढीमा डेंगु संक्रमण देखा परेको छ। संक्रमित धेरैजसो उपचार पश्चात घर फर्किए पनी धरानमा दैनिक ३० जनाभन्दा बढीमा डेंगु रोगको संक्रमण देखापर्ने गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले जानकारी दिए।

प्रतिष्ठानमा जेठ पहिलो सातादेखि चार हजार एक सय ३९ जना डेंगु संक्रमितको उपचार गरिएको चौधरीको भनाइ छ। विजयपुर हस्पिटलमा एक हजार एक सय एक जना डेंगु बिरामीको उपचार गरिएको व्यवस्थापक इन्दु नेपाल योन्जनले बताए। धरानकै वीरेन्द्र मेडिकल, श्रेष्ठ मेडिकल, मञ्जु श्री पोलिक्लिनक, धरान इमेजिङ, सन मेडिसिन, एनपी मेडिकललगायत निजी स्वास्थ्य संस्थामा थप ३ हजार बढी बिरामीले उपचार गरेका छन्।

बीपी प्रतिष्ठानमा डेंगु टेस्ट गर्ने किट पर्याप्त नहुँदा बिरामीले निजी स्वास्थ्य संस्थामा महँगो शुल्कमा उपचार गर्नुपरेको पीडितको गुनासोे छ। धरान ८ का बसन्त बजगाईले सरकारी अस्पतालले डेंगु सक्रमितको उपचार सहज नबनाउँदा धेरै बिरामी निजी स्वास्थ्य संस्थामा जानु परेको गुनासोे गरेका छन्।

धरान १५ का डेंगु सक्रमित रामकुमार राईले धरानमा प्रकोपका रूपमा फैलिएको डेंगु नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय सरकारको चरम लापरबाहीका कारण धरानवासीको ज्यान जोखिममा परेको बताए। उनले धरानमा साढे तीन महिनादेखि फैलिएको डेंगु नियन्त्रण गर्न स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत वास्ता नगरेको बताए। सुनसरी यादवको गृह जिल्ला हो।

बीपी प्रतिष्ठानको र्‍यापिट रेस्पन्स टिमका संयोजक डा.विजय खनालले धरानमा अव्यवस्थित रूपमा सञ्चालनमा आएका गाडी ग्यारेज, वर्कसप, नयाँ घर निर्माणस्थलमा एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेले अण्डा पार्ने र लार्भा पियुपा हुदै संक्रमित लामखुट्टेको संख्या वृद्धि भएका कारण धरानमा डेंगु प्रकोपका रूपमा फैलिएको बताए। उनले संक्रमित लामखुटेले आठ सयसम्म अण्डा पार्ने भएकाले सरसफाइमा ध्यान पुर्‍याउन र चनचेतनामार्फत यसको नियन्त्रण गर्न जनशक्ति परिचालन गर्नु पर्ने बताएका छन्।

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले डेंगु नियन्त्रण गर्न फगिङमार्फत अभियान सञ्चालन गर्दा समेत नियन्त्रण गर्न नसकिएको बताइन्। नगरवासी भित्रैदेखि डेंगु नियन्त्रणमा जागरुक भएर लागे नियन्त्रण सम्भव हुने उनको भनाइ छ। डेंगुकै कारण गत असार २८ गते धरान १५ की ४३ वर्षीय मनु सुनुवारको मृत्यु भएको थियो। डेंगुका कारण उपचार गर्ने चिकित्सकसमेत बिरामी परेका छन्।

सम्बन्धित समाचार