पाकिस्तानी डोनल्ड ट्रम्प-गीत गाउँदै, कुल्फी बेच्दै,  को हुन् उनी ?


१४ श्रावण २०७८, बिहिबार


इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस समेत रातारात सेलिब्रिटी बनेका छन् ।

यस्तै घटना भएको छ पाकिस्तानमा । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको जस्तै अनुहार भएको एक जना पाकिस्तानी भेटिए । निकै सुन्दर स्वरमा गाउन समेत सक्ने क्षमता उनको छ । पेशाको रुपमा कुल्फी व्यापारी ती व्यक्ति गीत गाएरै आफ्नो कुल्फी बेच्ने गर्दा रहेछन् ।

ती वयस्कले सेतो पाइजामा लगाएर गीत गाउँदै कुल्फी बेच्दै गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । अनुहार तथा छाला सेतो हुने एक किसिमको रोगसँग पनि उनी जुधिरहेका छन् । सेतो छाला, सेतै कपाल भएका उनको अनुहार भने ठ्याक्कै ट्रम्पसँग मिल्छ ।

पाकिस्तानी गायक तथा गीतका शेहजाद रोयले ती ुकुल्फीवालाुले गाउँदै गरेको भिडियो ट्वीटरमा सार्वजनिक गरेपछी केही बेरमै भाइरल बनेको हो । जहाँ उनले ट्रम्पको नक्कली अनुहार भन्दए उनले गाएको गीतको प्रशंसा समेत गरेका थिए । साथै उनको गीतलाई मन पराउर उनलाई सहयोग गर्न चाहेको समेत रोयले बताएका छन् ।

पन्जाबको शाहीवालका बासिन्दा उनलाई गायक रोयले सहयोग गर्ने बाचा गरेका छन् । पछिल्लो समय उनको गायकीलाई देखेर धेरै मानिसले उनलाई सहायता गर्न तत्परता देखाएका छन् । साथै उनको प्रशंसा समेत गरेका छन् ।

कतिपयले उनको भिडियबारे ठट्टा समेत गरेका छन् । एकजनाले लेखेका छन्, डोनल्ड ट्रम्प चुनाव हारेपछि पाकिस्तानमा आइस क्रिम बेच्दै ।

अर्को एक जनाले सामाजिक सञ्जालमा लेखेका छन्, पूर्वराष्ट्रपतिले गाउन सक्छन् भन्ने थाहा थिएन । उनको स्वर मर्मस्पर्शी रहेछ । उनी एक कलाकार हुन् ।

ती व्यक्तिको उर्दु गायन देखेर एक जनाले लेखेका छन्, ट्रम्प जस्तो देखिने उनको आत्मा भने लोक कलाकार नसिबो लालको जस्तो रहेछ ।

गायक रोयले उनलाई फेरि भेटेका छन् कि छैनन् भन्ने बारे कुनै विवरण सार्वजनिक भएको छैन । तर सामाजिक सञ्जाल मार्फत धेरैले ती कुल्फीवाला लाई भेट्न चाहेको इच्छा प्रकट गरेका छन् ।

सम्बन्धित समाचार