रुपन्देही । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो एक बजे प्रदेशसभाको बैठक बस्न लागेको हो । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले साउन २१ गते प्रदेशसभाको विशेष अधिवेशन आजका लागि आह्वान गर्नुभएको थियो ।
नयाँ मुख्यमन्त्रीका रुपमा विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ । केसी शंकर पोखरेल नेतृत्वको सरकारमा गएको बैशाख ६ गतेसम्म आन्तरिक मामिला तथा कानुन मन्त्री रहनुभएको थियो ।
लुम्बिनीमा एमालेसँग ३८ जना सदस्य छन् । गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ जना सदस्य छन् । प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय यादवलाई जसपाले गरेको कारबाही सर्वोच्चले सदर गरी दिएपछि प्रदेशसभा ८० सदस्यीय बनेको छ । भौतिक पूर्वाधार मन्त्री सन्तोष पाण्डेयले हिजो बेलुका पदबाट राजीनामा दिनुभएको छ ।
प्रतिक्रिया