लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने


२८ श्रावण २०७८, बिहिबार


काठमाण्डौ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।

मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको छ । अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ ।

लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यसअनुुसार आउँदो फागुुनसम्म माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले र त्यसपछिको बाँकी अवधिका लागि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले गर्ने सहमति छ ।

प्रदेश सरकारको अवधि अब १६ महिना बाँकी छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

नेतृत्व गुमाउँदै एमाले
नेकपा विभाजन र पार्टी भित्रको विवादका कारण एमालेले केन्द्रसहित प्रदेश सरकारको नेतृत्व गुमाउँदै गएको छ ।

लुम्बिनीअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद गएको थियो । गएको जेठ २८ गते प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उहाँ पदमुक्त हुनुभएको थियो । यस्तै गएको असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएको थियो ।

योसँगै केन्द्र, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले विपक्षी कित्तामा पुगेको छ । यसअघि केन्द्र र चारवटा प्रदेशमा नेतृत्व गर्दै आएको एमालेको नेतृत्वमा अब वाग्मती प्रदेश र प्रदेश १ मात्र बाँकी छ । दुवै प्रदेशमा माधव नेपाल समूह निर्णायक छ ।

सम्बन्धित समाचार