मौखिक मुन्दुमलाई ग्रन्थमा रुपान्तरण गर्दै कुलुङ समुदाय



सङ्खुवासभा, जेठ ३ गते । आदिवासी कुलुङ समुदायको पुर्खाहरुमा मात्र सिमित कुलुङ रिदुम् (मुन्दुम) लाई ग्रन्थमा रुपान्तरण गर्ने कार्य सुरु गरिएको छ । कुलुङ जातिको लिखित रुपमा मुन्दुमी ग्रन्थ नभएकोले लोप हुनबाट बचाउन मुन्दुम लेख्न सुरु गरिएको हो ।

रिदुम् जानेबुझेका पुर्खाहरु वितेसँगै लोप हुने भएकोले लेखन कार्य सुरु गरिएको हो । सङ्खुवासभाका कुलुङ बाहुल्य क्षेत्र सिलिचोङ गाउँपालिकाको लकुवामा भोजपुरका पुर्खाहरुको समेत भेलाले रिदुम लेख्ने कार्य सुरु गरिएको हो । सिलिचोङ गाउँपालिकाको आर्थिक सहयोगमा कुलुङ संघ बालाको आयोजनामा रिदुम् लेखन कार्य सुरु गरिएको हो । लेखन कार्यका लागि दुई जिल्लाका ३० जना भन्दा बढि पुर्खाहरुको उपस्थिति रहेको छ । रिदुम् लेखन तथा सम्पादनको संयोजन प्रेमचन्द्र सोम्फोरुले गरिरहनुभएको छ ।

किराँत समुदायका अधिकांस जातिको मुन्दुम मौखिक छ । उक्त मुन्दुमहरु पुर्खाहरुको अन्त्यसँगै हराउँदै गएको र अल्पज्ञान भएकाहरुका कारण परिमार्जित समेत हुँदै गएकोले ग्रन्थको रुपमा तयार गर्न लागि परिएको कुलुङ संघ बालाका सचिव राजकुमार कुलुङले जानकारी दिनुभयो । सवै क्षेत्रका पुर्खाहरुको उपस्थितिमा मुन्दुमी ग्रन्थ तयार पारे एकरुपता कायम हुने र सर्वस्वीकार्य समेत हुने अपेक्षा सहित हाल २ जिल्लाका पुर्खाहरुको भेला बोलाई लेखन तथा संकलन कार्य गरिएको सचिव कुलुङले जानकारी दिनुभयो ।

यस अघि पहिलो चरणमा साविक बाला गाविस स्तरीय पुर्खाहरुको भेलाबाट लेखन तथा संकलन कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उक्त समयमा संकलन गरिएको मुन्दुमलाई सम्पादकले पहिलो चरणमा सम्पादन गरि यस पटक भेला बोलाई थप छलफल गरिएको कुलुङले जानकारी दिनुभयो । यस पटकको भेलाले अन्तिम रुप दिएको विषयहरुमा अन्य जिल्लाका पुर्खाहरु सहितको भेला आयोजना गरि अन्तिम रुप दिई मुन्दुम ग्रन्थको रुपमा प्रकाशन गरिने योजना रहेको सचिव कुलुङले जानकारी दिनुभयो । रिदुम्मा कुलुङ जातिको उत्पति, जन्मदेखि मृत्यसम्मको सँस्कार लगायतका सम्पूर्ण धार्मीक विधिहरु समेटिने बताईएको छ ।

लेखेर रिदुम् ग्रन्थ तयार गरेर मात्र सम्पूर्ण कार्य पुरा नहुने मुन्दुम लेखनका सम्पादक प्रेमचन्द्र सोम्फोरु बताउनुहुन्छ । कुलुङ जातिको सम्पूर्ण रितिहरुको बखान्ने रिसिवा (लय) छुट्टाछुट्टै रहेकोले सोका लागि अर्को चरणमा श्रब्यदृश्य सामग्री समेत तयार गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । सुरुमा लिखित रिदुम् ग्रन्थ तयार गरेर त्यसैलाई श्रब्यदृश्य बनाउन सकिने सम्पादक सोम्फोरुले बताउनुभयो ।

सम्बन्धित समाचार