काठमाण्डौ । अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् ।
अमेरिकी चार्टर्ड बिहानमा उनीहरू बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये १ सय २७ जना अघि बिहान आइपुगेका हुन् ।
उनीहरूलाई कुवेतको जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ । विमानस्थल कार्यालयले १ सय २७ जना आइपुगेको बताए पनि परराष्ट्र मन्त्रालयले १ सय १८ जना आइपुगेको पुष्टि गरेको छ । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।
स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल ल्याइएकाहरुको स्वास्थ्य जाँच गरेर सङ्क्रमण भएमा उपचार पछि घर पठाइने र सङ्क्रमण नभए सिधै घर पठाइने छ । अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन्।
विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ । अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाइसकेका छन् ।
कन्सुलर सेवा विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण टिपाउन सकिन्छ ।
प्रतिक्रिया