लामखुट्टेको टोकाइबाट सर्दैन कोरोना



कोरोना भाइरसको महामारी सुरु भएसँगै यससँग सम्बन्धित विभिन्न भ्रम र गलत धारणा फैलिरहेका छन् ।अहिले कोभिडको जोखिमसँगसँगै मनसनुमा देखा पर्ने रोगहरूको पनि जोखिम उत्तिकै रहेको कारण धेरै सावधानी अपनाउनुपर्ने देखिन्छ ।

मनसुन लामखुट्टेको प्रजनन मौसम हो । लामखुट्टेको टोकाइबाट सर्ने परजीवीका कारण डेङ्गु, मलेरिया जस्ता रोग लाग्ने सम्भावना हुन्छ । तर, अधिकांशमा के कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सर्छ ? भन्ने सोच पनि आएको छ ।

यस्तोमा कोभिड १९ भाइरस लामखुट्टेको टोकाइले नसर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म लामखुट्टेको टोकाइले कोभिड १९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन ।कोभिड १९ श्वासप्रश्वाससम्बन्धी भाइरस हो । यो भाइरस सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने थुक वा सिँगानका स(साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

सङ्क्रमणबाट बच्नका लागि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ । साथै, कुनै सतह छोएपछि स्यानिटाइजरले हात निसङ्क्रमण गर्ने वा साबुनपानीले धुने र एक अर्कासँग भौतिक दुरी कायम गर्नुपर्ने सुझाव दिइएको छ ।

सम्बन्धित समाचार