दाङ । प्रहरीले प्रतिबन्धित बन्यजन्तु कस्तुरीको बिनासहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–७ का ३३ वर्षीय मोहन बूढा र प्यूठान नगरपालिका–१ का २२ वर्षीय मदन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घोराही–१५ शहीद गेटस्थित होटल टुडे प्लाजामा बिनाको बिक्री हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।
रिजालकाअनुसार होटलको कोठा चेकजाँच गर्दा उनीहरुले लुकाइछिपाई राखेको अवस्थामा ३१ ग्राम २०० मिलिग्राम कस्तुरीको बिना फेला परेको थियो। त्यस्तै दाङमा प्रहरीले चितुवाको ३ वटा छालासहित बैतडीका ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ का २० वर्षीय विमल औजी, सोही ठाउँका २८ वर्षीय प्रदिप कुमार बिक र २० वर्षीय हेमन्त औजी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनीहरूलाई लमही नगरपालिका–९ बाट पक्राउ गरिएको प्रवक्ता रिजालले जानकारी दिए।
बाँकेको कोहलपुरबाट दाङको लमहीतर्फ प्रतिबन्धित बन्यजन्तुको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिप्रका दाङ र इलाका प्रहरी कार्यालय अमिलियाको संयुक्त प्रहरी टोलीले लमही–९ बाट चितुवाको छालासहित पक्राउ गरेको हो।
लमहीतर्फ आइरहेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई चेकजाँच गर्दा पुच्छरदेखि टाउको सम्म ७ फिट ६ इन्च लम्बाइ भएको १ वटा र टाउकोदेखि पुच्छरसम्म २ फिट ८ इन्च लम्बाइ भएको २ वटा गरी ३ वटा फेला परेको प्रहरीले जनाएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया