साल्पाशिलिछो : जनताका लोकप्रिय महेश



भोजपुर । स्थानीय तह निर्वाचन–२०७४ अघि महेश राई भोजपुरको राजनीतिमा कुनै परिचित अनुहार थिएनन् । भोजपुरको राजनीतिमा त्यसअघि उनको उपस्थीति उति धेरै बाग्लो थिएन । तर स्थानीय तह निर्वाचनमा कम्युनिष्टहरुको उर्बर भूमी मानिएको भोजपुरको साल्पासिलिछो गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बनेर विजयी भए । एकाएक चर्चामा आए उनी ।

सबैको चासो रह्यो, ‘कसरी भत्कियो कम्युनिष्टको गढ ?’ उत्तर सहज थियो, ‘महेश राईको व्यक्तिगत प्रभाव ।’ साल्पासिलिछो गाउँपालिकामा नेपाली कांग्रेसको पार्टी संगठनको संरचना समेत वडासम्म बनेको थिएन । एक हिसाबले भद्रगोल जस्तै थियो । फेरि यता यो गाउँपालिका कम्युनिष्टको गढको रुपमा स्थापित थियो । कांग्रेसको लागि बाँझो सिरुबारी जस्तै थियो । उनले उही बाँझो सिरुबारीलाई कांग्रेसको लागि उर्बर बनाई छोडे ।

यसरी कम्युनिष्टको गढ भत्काउने राई उतिधेरै मिलाएर मिठो पनि बोल्दैनन् । गाउँघरको सामान्य मान्छे जसरी खस्रो बोल्छन् । सिधा कुरा गर्छन् । तर उनी जनताको बीचमा लोकप्रिय छन् । काठमाडौंमा सफल व्यवसायीको परिचय बनाएका राईले निर्वाचनको समयमा भनेका थिए, ‘मलाई पुग्ने पैसा कमाईसकेको छु । बिकासको एक पैसा तलमाथि गर्दिन । बरु जनतालाई आबश्यक पर्दा मेरो गोजीको खर्च गर्न तयार छु ।’ राईले निर्वाचनमा गरेको यो बाँचामा उनी इमानदार देखिए । गाउँपालिकाबासीको प्रतिक्रिया छ, ‘उनी सरल छन् । सिधा बोल्छन् । जनताको काम इमानदारिताको साथ गर्छन् ।’

जनतामा प्रिय

धेरैलाई लागेको थियो, ‘महेश राई शहरको सुख सुविधामा रमाइरहेका नेता हुन् । निर्वाचन जितेपनि उनी शहरतिरै रमाउँछन् । गाउँलाई समय दिदैंनन् ।’ तर यो अनुमान खण्डित भयो । उनी गाउँपालिकाको केन्द्रमा नै घर बनाएर गाउँमै पूर्णकालिन भएर क्रियाशिल छन् । गाउँमा उनी रमाए । बरु उनको लागि शहर पो बिरानो भयो । भन्छन्, ‘शहरको सबै सुख सुविधा छोडेर गाउँमै रमाइरहेको छु ।’ महेश जनताको बीचमा लोकप्रिय छन् । त्यसको कारण हो, उनी नेता जस्तो छैनन् अर्थात् उनी सरल भएर सबै जनतासँग घुलमिल छन् । जनताको दुःखमा सधैं सामेल हुन्छन् ।

जतिसुकै अप्ठ्यारमा पनि उनी गाउँघरमै रमाए । उनले काठमाडौंमा रहेको रिमोट कन्ट्रोलवाला सुविधा सम्पन्न घरको सुविधा भुलीदिएँ । जुकाझरी खेपेर खपेर जनताको काममा रमाए । त्यसो त यही कारणले उनको जीन्दगीमा गहिरो चोट पनि लागेको छ । उनलाई राजनीतिमा प्रेरित गर्ने र बाटो देखाउने जीवन संगिनी यही कारण गुमाउनु परेको गहिरो पीडा छ उनलाई । काठमाडौंको सम्भ्रान्त परिवारका सदस्य थिइन् उनको श्रीमती सरु गिरी । उनैले राजनीतिमा जान सुझाएकी थिईन् महेशलाई ।

महेश गाउँपालिका प्रमुख भएपछि गाउँमा बस्नुपर्ने भयो । सरु काठमाडौंको सुख र अलिशान महल छोडेर उतै गइन् । जनताको सुख दुःखमा भिज्न थालिन् । रमाउन थालिन् । तर बिडम्बना हृदयघातको कारण उतै गाउँमा उनको जीवन विलिन भयो । महेश भन्छन्, ‘स्वास्थ्यमा समस्या भए पनि गाउँमा रमाउँन थालिन् । जनतासँग म भन्दा बढी लोकप्रिय बनेकी थिइन् । तर बिडम्बना जनतासँगको उनको माया र सामिप्यता उनको निधनको कारण बन्यो ।’ महेशलाई थकीथकी लाग्छ, ‘काठमाडौंमा भएको भए समयमै अस्पताल लगेर जीवन साथीलाई बचाउन सकिने थियो ।’

उपचारको लागि जुनसुकै देश अथवा जस्तोसुकै अस्पताल लैजाने आर्थिक हैसियत थियो महेशसँग । तर महेशलाई यस्तो आपत आइलाग्यो, ‘की गाउँमा भएको बेला मध्यरातमा हृदयघात भयो । मध्यरातमा हेलीकेप्टरमा जान सम्भव भएन । गाडीमा लैजादै गर्दा दुःखत निधन भयो ।’ महेशले अल्पायुमै प्रिय जीवन साथी गुमाए । उनको लागि सरु केलव जीवन साथी मात्रै होइन राजनीतिमा बाटो र उज्यालो देखाइदिने पथ पर्दशक जस्तै थिइन् । ‘इमरजेन्सी उपचार सेवा’ अभावले जीवन साथी गुमाएका महेशको फरक सपना जोडिएको छ, गाउँमै सुविधा सम्पन्न अस्पतालको स्थापना । महेश भन्छन्, ‘अब यो मेरो योजना र सपना हो ।’

अब नजर पार्टीतिर
कांग्रेसीजनहरु अहिले महाधिवेशनमा होमिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । कांग्रेसले अधिवेशनका लागि कार्यतालिका समेत बनाइसकेको छ । तालिका अनुसार २०७८ भदौ १८ मा वडा अधिवेशन भदौ २७ मा गाउँ–नगर पालिका, १ असोज प्रदेश क्षेत्र, ५ असोज संघीय निर्वाचन क्षेत्र, १० असोजमा जिल्ला र १० देखि १२ प्रदेश अधिवेशन हुदैंछ ।

अहिले कांग्रेसमा बहस छ, ‘अबको कस्तो कांग्रेस, कसको कांग्रेस ?’ कम्युनिष्टको गढमा खोरिया फाँडेर उर्वर बनाएका राई अब पार्टीमा पनि सक्रिय हुने योजनामा छन् । भन्छन्, ‘पार्टीलाई जनताको बीचमा बलियो र सुदृढ बनाउन पार्टीको कमिटीमा पनि सक्रिय हुनुपर्छ भन्ने निचोडको साथ जिल्ला नेतृत्वमा जाने निर्णय गरेको छु ।’

जिल्ला नेतृत्वको पदाधिकारी मध्ये एक महत्वपूर्ण पदमा उठ्ने उनको योजना छ । भन्छन्, ‘मैले कांग्रेसको आधार नभएको भुगोलमा पार्टीलाई स्थापित गरेको छु । बलियो बनाएको छु । अब जिल्लाको पार्टी नेतृत्वमा बसेर थप भुमिकालाई फराकिलो बनाउँछु ।’

महत्वपूर्ण पदाधिकारी पदमा बसेर भोजपुरमा कांग्रेसलाई एक नम्बर पार्टी बनाउन महत्वपूर्ण योगदान गर्ने उनको योजना र सपना छ। भन्छन्, ‘फेरिएको परिस्थीतिमा मिठो भाषण वा गफ होइन ठोस योजना बनाएर काम गर्नुपर्छ । जनताका बीचमा स्थापित हुन समस्या छैन ।’ काम गर्नेलाई जनताले माया गर्ने र विश्वास गर्ने उनको गहिरो आत्मविश्वास छ । त्यसो त कुरा कम, ठोस काम गरेर जनता र कार्यकर्ताकोबिचमा लोकप्रिय बनेका महेश नेतृत्व र कार्यकर्ताले पार्टी कामको जिम्मा दिनेमा ढुक्क छन् । भन्छन्, ‘मेरो कामको मूल्याङ्गकन हुन्छ भन्नेमा ढुक्क छु ।’

सम्बन्धित समाचार