काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्कनुभएको छ । भारतको नयाँ दिल्लीमा रहेको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नुभएका खनाल स्वास्थ्यमा सुधार आएसँगै आज सोमवार स्वदेश फर्कनुभएको हो ।
नेता खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले एमाले फुटेको नभइ आफूहरूले विद्रोह गरेको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहङ्कारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उहाँको भनाइ छ ।
यस्तै उहाँले आफू ७० वर्ष नाघिसकेकाले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार नभएको भन्दै पार्टीले दिने जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।
‘यो मेरो बोनसको जीवन हो । बाँकी जीवन देशका लागि र एउटा मार्क्सवादी, लेनिनवादी निर्माणमा लगाउनेछु । कार्यकारी पदको इच्छा राखेको छैन । पार्टीले के दिन्छ भन्ने कुरा हो’, उहाँले भन्नुभयो ।
आफूलाई आफ्नै भान्जीले मिर्गौला दान दिएको नेता खनालले बताउनुभयो ।
नेता खनालले आफ्नो उपचारमा सहयोग गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थ मन्त्रीका साथै शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारलाई पनि धन्यवाद दिनुभयो ।


प्रतिक्रिया