प्रदेश २ मा एमालेका थप २ सांसदले रोजे एकीकृत समाजवादी



जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर एकीकृत समाजवादी दल रोजेका हुन् ।

दुबै जनाले सनाखत गरिसकेको एकीकृत समाजवादीकी सांसद बेची लुंगेलीले बताइन् । यसअघि गत बिहीबार एमालेका १० जना सांसदले एकीकृत समाजवादी रोजेका थिए । प्रदेश २ मा नेकपा एमालेको २१ जना प्रदेशसभा सदस्य रहेकामा एकीकृत समाजवादी रोज्नेको संख्या १२ पुगेको छ ।

यसअघि एमालेका सांसदहरु शत्रुद्यन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मंजु कुमारी यादव, बेची लुंगेली, रबीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तवले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

एकीकृत समाजवादी रोजेका सांसदहरुले भने हाल उपचारका क्रममा दिल्लीमा रहेका सांसद डिल्ली उप्रेतीले पनि एकीकृत समाजवादी रोज्ने दावी गरेका छन् ।

सम्बन्धित समाचार