आज ४१ औँ विश्व खाद्य दिवस मनाइँदै


१२ कार्तिक २०७८, शुक्रबार


काठमाण्डौ । आज ४१ औँ विश्व खाद्य दिवस । हाम्रो पहल : उत्पादन र पोषणमा वृद्धि भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउँदै आइएको दिवसलाई यो वर्ष चाडपर्वको समय परेकाले नेपालमा भने आजको दिन मनाउन लागिएको हो । १६ अक्टोबर सन् १९४५ मा संयुक्त राष्ट्र (एफएओ) ले खाद्य र कृषि सङ्गठनको स्थापना गरेको थियो ।

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारि खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको हो ।

नेपालले पनि २०३८ सालदेखि यो दिवस मनाउँदै आएको छ । यो दिवस मनाउनुको उद्देश्य विश्वमा भोकबाट पीडितको लागि कारबाही र जागरुकतालाई वृद्धि गर्न तथा सबैको लागि खाद्य सुरक्षा र पौष्टिक आहारको आवश्यकता सुनिश्चित गर्नु हो ।

खाद्य सुरक्षा र ग्रामीण विकास गरेर विदेश पलायन रोक्नका लागि भूमिका खेल्ने गर्छ । बढ्दो सङ्घर्ष र राजनीतिक अस्थिरताको कारण अधिक जनसङ्ख्या विदेश जान बाध्य छन् । प्रवासन समस्यामा योगदान दिने अन्य महत्त्वपूर्ण कारक तत्वले गर्दा जलवायु परिवर्तनका कारण भोक, गरिबी र अप्रिय मौसमका घटनाहरुमा बढोत्तरी भएको छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य दिवसको अवसरमा शुभकामना दिँदै कृषि क्षेत्रको विकासका लागि खाद्य तथा पोषण सुरक्षा तथा खाद्य सम्प्रभूतासहितको दिगो प्रतिस्पर्धी एवं समृद्ध कृषि अर्थतन्त्र निर्माण गर्ने सोच बनाइएको बताउनुभएको छ ।

हरेक पालिकामा खाद्यान्न भण्डारणका लागि गोदाम निर्माण गरी सङ्कटको समयमा सबैले उपभोग गर्न पाउने व्यवस्था गर्ने कार्यको थालनी भइसकेको पनि उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार