भाटभोटेनी-होद्रोङे-माङ्सिमा पर्यटकीय क्षेत्रमा बास बस्न समस्या



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ५ मा पर्ने भाटभोटेनी-माङ्सिमा धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकलाई बास बस्न समस्या हुँदै आएको छ । भाटभोटेनी आसपासमा मानव बस्ती नहुँदा यहाँ घुम्न आएका पर्यटकलाई बासको समस्या हुने गरेको छ ।

सदरमुकाम खाँदबारीबाट कोशी राजमार्गको चिचिला देउराली हुँदै भाटभोटेनीको फेदीबाट करिब ५ घण्टाको पैदल यात्रामा बाइस सय मिटर उचाईमा रहेको भाटभोटेनी डाँडा पुग्न सकिन्छ । तर यहाँ बासका लागि बस्ती अभावका कारण पर्यटकहरु माङ्सिमा नै पुग्नु पर्ने बाध्यता छ । ताकी भाटभोटेनीबाट माङ्सिमा पुग्न करिब ३ घण्टा ओरालो पैदल यात्रा गर्नु पर्छ ।

पर्यटकलाई सुविधाका लागि भन्दै अहिले स्थानीयले होन्द्रोङेमा २ ओटा घर निर्माण गरेका छन् । तर पर्यटकको चहलपहल बढ्न थालेपछि बासका लागि निर्मित घरहरु समेत पर्याप्त छैनन् । स्थानीय ठग बहादुर गुरुङका अनुसार अहिले दुई घर होन्द्रोङेमा निर्माण भइसकेको छ । तर मानिसहरु आएको बेला बास बस्न समस्या हुँदै आएको छ ।

भाटभोटेनी देवीको बास भएकाले यहाँ रहेको भाटभोटेनी ढुंगामा पुजा गर्ने चलन छ । पहिले खर्क जाने बेला पशुचौपायमा रोगव्याधी नलागुन्, प्राकृतिक विपत्तिमा नपरुन् भनेर पुजा गर्ने चलन थियो । तर अहिले खर्क राख्ने चलन कम हुँदै गएपछी भाटभोटेनको अस्तित्व पनि कम हुन थालेको छ । यहाँबाट सुर्योदय, सुर्यास्त हेर्न सकिन्छ भने अग्लो भुभागका कारण संखुवासभा, भोजपुर, धनकुटा लगायतका विभिन्न स्थानहरु नियाल्न सकिन्छ । भाटभोटेनी एकपटक पुग्नै पर्ने ठाउा रहेछ, खँदबारीका अनिष गुरुङले भने ।

भाटभोटेनी नजिकै रहेको होद्रोङे पनि ऐतिहासिक स्थान हो । तत्कालिन माओवादीले दश वर्षे जनयुद्धमा जनसेनालाई तालिम सञ्चालन गर्ने संखुवासभाकै सबैभन्दा ठूलो र सुरक्षित आधारशिविर थियो होन्द्रोङे । पछी हवाई आक्रमण भएको होन्द्रोङेमा युद्धताका बंकर, सेन्ट्री लगायतका भग्नावशेष देख्न सकिन्छ ।

नजिकै रहेको माङ्सिमा गाउँ गुरुङ र राई जातिको मात्र बसोबास रहेको क्षेत्र हो । यहाँ लोपोन्मुख ताक्मारु धान उत्पादन गरिन्छ । विभिन्न रोगको उपचार हुने आशंका गरिएको ताक्मारु धान भुगोल र मौसमको हिसाबले यहाँ मात्रै उत्पादन हुने गरेको छ ।

संघीय संरचना पछी यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय क्षेत्र बनाउन स्थानीय सरकारको चासो बढेकै छ । तर भौगोलिक विकटताले गाँजेको यो क्षेत्र जसरी जुर्मुराउनु पर्ने हो त्यति हुन सकेको छैन । तर यी क्षेत्रलाई पर्यटकीय स्थल बनाउन कै लागि मकालु गाउँपालिका र वडाले बजेट विनियोजन गरेर काम गरिरहेको वडाध्यक्ष जापान गुरुङ बताउँछन् । गाउँपालिकाले भाटभोटेनी पर्यटन पदमार्ग निर्माण गरिरहेको छ भने मांसिमासम्म सडक निर्माणका लागि पहल गरिरहेको अध्यक्ष गुरुङले बताए ।

तर भाटभोटेनी, होद्रोङे र मांसिमालाई एकिकृत गुरुयोजना बनाएर अघि बढ्न नसक्दा यी क्षेत्रहरुको पहिचान र अस्तित्व संकटमा पर्न थालेको छ ।

 

सम्बन्धित समाचार