काठमाडौं । नेपाली कांग्रेसको प्यूठान जिल्ला अधिवेशनको मतगणना स्थल तनावग्रस्त बनेको छ ।
मंगलबार साँझ जिल्ला सभापतिको मतगणना अन्तिम अवस्थामा पुगेका बेला ढुंगामुढा भएपछि स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रूग्याँस प्रहार गर्नुपरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अनलाइनखबरलाई बताए ।
संस्थापन इतर पक्षका उम्मेदवार विष्णु गिरी १०६४ मध्ये ६५ मत गणना गर्न बाँकी छँदा ४६ मतले अगाडि रहेको अवस्थामा ढुंगामुढा भएको थियो । मतगणना स्थल स्वर्गद्वारी क्यापस बाहिरबाट आएको हुलले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भएको बताइएको छ ।
त्यसक्रममा भएको झडपमा दुई सर्वसाधारण र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एकरएक जना सुरक्षाकर्मी गरी ४ जना घाइते भएका छन् ।
गिरी पक्षका नेताहरु संस्थापन पक्षका प्रतिद्वन्दी शिव रिजाल पक्षकाले ढुंगामुढा गराएको आरोप लगाउँछन् ।
तर प्रशासन चाहिँ ढुंगा कसले हान्यो भन्ने टुंगो लागिनसकेको बताउँछ । प्रजिअ भुसाल भन्छन्, ‘आक्रमण गर्नेको खोजी गरिरहेका छौं, पक्राउ परेपछि मात्रै थाहा हुन्छ ।’
भुसालका अनुसार मत पेटिका सुरक्षित साथ राखिएको छ । उनी भन्छन्, ‘तत्काललाई गणना स्थगित गरिएको छ, पुनः सुरु हुन्छ ।’
मतगणना स्थलमा रिजाल पक्षले केहिवेर नारावाजी पनि गरेको थियो । हाल स्थिति सामान्य रहेको भुसाल बताउँछन् ।
प्रतिक्रिया