कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मत परिणाम बुधवारसम्म आइसक्ने



काठमाण्डौ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनअन्तर्गत गएको मङ्सिर २७ गते सोमवार भएको चुनावको अन्तिम परिणाम भोलि बुधवारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

पदाधिकारीसहित एक सय ३४ पदका लागि भएको चुनावको अहिलेसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ ।

अहिले वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ । यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आज मङ्गलवार नै बाँकी रहेको थारु, खसरआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधवारसम्म एक सय ३४ पदकै अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उहाँले सुनाउनुभयो ।

विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक हप्ताभन्दा लामो समय लागेको हो ।

सम्बन्धित समाचार