काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
आजको बन्दसत्र दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा सुरु हुनेछ। बन्द सत्रमा प्रचण्डको प्रतिवेदनमाथि २४ वटा समूह बनाएर छलफल गरिएको थियो। सबै समूहका नेताले छलफलको निष्कर्ष बुधबार र बिहीबार पेश गरिसकेका छन्।
महाधिवेशन प्रतिनिधिले नेताका आचारण सुधार र सम्पत्ति छानबीनदेखि अमेरिकी सहयोग परियोजना एमसिसी खारेज गर्नुपर्नेसम्मका विषय उठाएका छन्। यी विषयमा प्रचण्डले जवाफदिइसके पछि विधान मस्यौदामा उठेका विषयमा नेता देव गुरुङले प्रष्ट पार्नेछन्। आजैको बन्द सत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदनहरु पनि पेश हुने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जन श्रेष्ठले जानकारी दिइन्।
अध्यक्ष प्रचण्डको प्रतिवेदन र विधानपारित गरेपछि केन्द्रीय कमिटीको निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ। महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। अध्यक्ष प्रचण्डले नाम प्रस्ताव गर्ने र त्यसलाई नै सर्वसम्मत गराउने तयारी गरिएको छ।
प्रतिक्रिया