हिम्भा नेपालको सहयोगमा हिमावि खाँदबारीमा डिजिटल लाइब्रेरी र भर्चुअल कक्षा सुरू



खाँदबारी । सङ्खुवासभको हिमालय माध्यामिक विद्यालयमा आइसिटि भर्चुअल कक्षा र डिजिटिल पुस्तकालय सुरू गरिएको छ। हिमालय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था हिम्भा नेपालको सहयोगमा भर्चुअल कक्षा र डिजिटल पुस्तकालय सुरू भएको हो।

२०२३ सालमा हिमाविबाट एसएलसी उत्तीर्ण गर्नुभएका पुराना विद्यार्थी भोला गौलीले उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यालयलाई हिम्भा नेपाल नामक संस्थाले विद्यालयलाई ५ लाख बराबरको १० थान ल्यापटप कम्प्यूटर सहयोग प्रदान गरिएको छ। हिम्भा नेपाल अमेरिकाका संयोजक एवं सहयोग संयोजक लिला श्रेष्ठले ल्यापटप आइसीटी भर्चुअल कक्षा तथा डिजिटल पुस्तकालय सञ्चालन गर्न प्राविधिक सहयोग समेत अमेरिकाबाटै मिलाइने जानकारी दिनुभयो ।

हिम्भा नेपालका अध्यक्ष रामप्रसाद घिमिरेले विद्यालयको शैक्षिक स्तर उकास्न चाहिने सहयोगका लागि सबै पूर्व विद्यार्थीहरूले आआफ्नो स्थानबाट आआफ्नो विज्ञता र क्षमताअनुसार लागिपर्नु पर्ने आवश्यकता औंल्याउनु भयो। हिम्भा नेपाल हिमालय माध्यामिक विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको साझा संगठन हो । हिमालय माध्यामिक विद्यालय खाँदबारीबाट एसएलसी वा एसइइ उत्तीर्ण गरेका सबै विद्यार्थीहरु हिम्भा नेपालका स्वत सदस्य हुने प्रावधान रहेको छ । सहयोग हस्तान्तरणमा सहयोग संयोजक अमेरिका निवासी लिला श्रेष्ठले आजको सहयोग शुरुवात मात्र भएको वताउदै भविष्यमा अत्याधुनिक डिजिटल पूस्तकालय स्थापना गर्ने योजना रहेको बताउनु भयो ।

यसैविच,  आजै विद्यालयमा लायन्स क्लव अफ सान्ता रोजा अमेरिकाको सहयोगमा लियो क्लब गठन भएको छ । राजन ठाकुरको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति गठन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । उहाले निकट भविष्यमा अमेरिकामा रहेका आइटी विज्ञहरूबाट विद्यार्थीहरूलाई तालिम दिनुका साथै आय आर्जनका केही योजना सुरू गरिने बताउनु भयो। विद्यालयका प्रधानाध्यापक वीरबहादुर राईले कक्षा कोठालाई विश्वसंग जोड्दै २१ औं शताब्दीमा लक्षित गरिएको गुणस्तरीय शिक्षा हासिल गर्न संस्थाका सहयोगी सदस्यहरु प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्व बज्रचार्य, हिम्भा नेपाल सङ्खुवासभाका अध्यक्ष खेम घिमिरेले हिम्भाको कार्यको प्रशंसा गर्नुभयो। हिम्भा नेपालका केन्द्रीय सचिव शेरबहादुर ढुंगानाले खादबारीको शैक्षिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानमा निकट भविष्यमै केही काम गर्ने योजना रहेको बताउनु भयो ।

संवैधानिक आयोगका प्रमुखहरू, दर्जनौं सचिव, प्राध्यापक, न्यायधिस, विशिष्ट व्यक्ति बनाउन सफल विद्यालयको आगामि दिनमा अझ प्रगतिउन्मुख बनाउन हिम्भा नेपाल सशक्त भुमिका निर्वाह गर्न तयार रहेको सचिव ढुंगानाले बताउनुभयो । हिम्भा नेपालका कोषाध्यक्ष तथा बरिष्ठ पत्रकार दिपेन्द्र वान्तावा, हिम्भा नेपालका आजिवन सदस्यहरूले हिम्भा नेपालको सहयोगमा सुरू भएको आइसिटि भर्चुअल कक्षा र डिजिटल पुस्तकालयले गति लिने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा हिमालय माविका शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार