काठमाडौं । सरकारी तथ्यांकले नेपालमा गत पुस २१ देखि कोरोनाको संक्रमण फेरि बढेको देखाए पनि माघको तेस्रो साता शुरु हुँदा घट्न थालेको छ।
पुस २० गतेसम्म २ सयको आसपासमा रहेको संक्रमितको संख्या २१ गतेदेखि दोब्बरले दैनिक रुपमा ह्वात्तै बढ्दै गएको थियो।
यससँग देशमा कोरोनाको तेस्रो लहर शुरु भएको मानिएको थियो।
पुस तेस्रो साता बढ्दै गएको संक्रमितको संख्या माघ १२ गतेदेखि भने केही घट्न थालेको छ।
माघ ६ गते एकैदिन १२ हजार ३ सय ३८ जना संक्रमित भेटिएका थिए। त्यस दिन २७ हजार ४ सय ९७ जनाको परीक्षण भएको थियो।
कोरोना संक्रमितको यो संख्या नेपालमा कोरोना संक्रमण महामारी सुरु भएयताकै उच्च हो।
यस्तै माघ १२ गते ८ हजार ४ सय ५४ जना, १३ गते ८ हजार १७ जना, १४ गते ६ हजार ८ सय २७ जना, १५ गते ४ हजार ९ सय ४ जना र माघ १६ गते ३ हजार ५ सय ४० संक्रमित थपिए।
तथ्यांकले हाल नेपालमा दैनिक संक्रमितको संख्या केही दिनयता ८ हजारभन्दा मुनि नै रहेको देखाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले यो साता संक्रमण दर ४ प्रतिशतले कमी भएपनि साताभरिको संक्रमणदर ४० प्रतिशतभन्दा माथि नै रहेको बताएकी छन्।
‘यो साता संक्रमणदरमा ४ प्रतिशतले कमी आए पनि हाम्रोमा संक्रमणदर अझै ४० प्रतिशतभन्दा माथि नै छ,’ उनले भनिन्।
प्रतिक्रिया