महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब



काठमाडौं । नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले संघको महाधिवेशन चाँडो गर्न पार्टी नेताहरूलाई दबाब दिन सुरु गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन सुरु गरेका हुन्।

नेविसंघलाई गतिशील बनाइ क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई दबाब दिने अभियान सुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताए।

त्यसक्रममा विद्यार्थीहरुले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दबाब दिँदै पार्टीका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई अनुरोध पत्र पनि बुझाएका छन्।

अभिभावकलाई पत्र भनेर बुझाएको सो अनुरोध पत्रमा तत्काल तदर्थ समिति गठन गरी नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरुसँग माग गरिएको पनि जोशीले बताए।

सो पत्र बुझ्दै महरले नेविसंघलगायतका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरूलाई अनौपचारिक रुपमा दबाब दिँदै आएको र अव बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिवद्धता जनाए।

उनले पार्टी पदाधिकारीहरूसमेत भातृ संस्थाहरूको महाधिवेशन छिटो गराउन गम्भीर नभएको उल्लेख गर्दै उनीहरूमाथि दबाब दिन नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई आग्रह गरे।

पार्टीको विधान र संघीयताको भावना अनुसार कांग्रेस भातृ संस्थाहरूको विधान मस्यौदा भएपनि पार्टीले स्वीकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरू पुरानै विधानमा चलिरहेका छन्।

जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटोभन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने विद्यार्थीहरूको माग छ।

 

सम्बन्धित समाचार