एमसीसीमा प्रचण्डको नयाँ शर्त



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा जाँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याट ९एमसीसी० संसदमा लैजान सहमति जुट्नेमा ढुक्क थिए ।

जब बैठकमा उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुने, तब उनी पूर्व सहमतिबाट पछाडि फर्किएको अनुमानमा पुगे ।

सिंहदरबारमा भएको छलफलको सुुरुमै सभामुख सापकोटाले प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुले बैठकमा नआउने बताएको जानकारी गराएका थिए ।

त्यसपछि सुरु भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसीलाई रोक्न नहुने भन्दै संसदमा लगेर टुंगो गर्नुपर्ने बताए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू कार्यकारी अध्यक्ष भएको बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यथास्थितिमा एमसीसी पास नगर्ने निर्णय गरेका कारण आफूले नैतिक रुपमै साथ दिन नसक्ने बताए । त्यो बेला माधवकुमार नेपाल पनि पार्टीको वरिष्ठ नेता भएको भन्दै उनले एकीकृत समाजवादीका अध्यक्षतिर हेरे ।

एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार प्रचण्डले एमसीसीका कतिपय बुँदामा सहमति हुन नसक्ने बताए । उनले भनेका छन्, ‘नेकपा हुँदा नै पार्टीले नै निर्णय गरेको हो, जस्ताको तस्तै अगाडि बढाउन हुँदैन ।’

यद्यपि दलहरुबीच सहमति हुँदा निकास दिन सकिने भन्दै प्रचण्डले के निकास हुनसक्छ भनेर सहमति खोज्नुपर्ने बताएको श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पहिले संसद खुल्नुपर्ने त्यसपछि एमसीसीमा राष्ट्रिय सहमति जुटाउन पहल गर्नुपर्ने पार्टीको धारणा रहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘माओवादीको धारणा प्रष्ट छ, सबभन्दा पहिले संसद खुल्नुपर्छ । त्यसपछि एमसीसीका विषयमा राष्ट्रिय सहमतिको प्रयास हुनुपर्छ । अनि मात्रै अघि बढ्ने नबढ्ने ९प्रष्ट० हुन्छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि एमसीसीलाई संसदमा अगाडि बढाउन नहुने बताएका छन् । महन्थ ठाकुर नेतृत्वको दल लोकतान्त्रिक समाजवादी पार्टीका अकवाल अहमद साहले एमसीसी सम्झौता संसदमा लगेर छलफल गर्नुपर्ने बताए भने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध गरे ।

सम्बन्धित समाचार