प्रदेश १ काे मुख्यमन्त्री कार्की अप्ठ्याराेमा



विराटनगर । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की अफठ्यारोमा परेका छन् ।

संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नयाँ राजनीतिक समीकरण बनाएपछि सत्ता गठबन्धनमा रहेको राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । राप्रपाको निर्णय र प्रदेश सरकारमा सहभागी दल माओवादी केन्द्र र जसपा नयाँ समीकरणमा जोडिएपछि प्रदेशका मुख्यमन्त्री कार्की अफठ्यारोमा परेका हुन् ।

प्रदेश १ को प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेसँग ४० सांसद छन् । दोस्रो दल कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपाको १ प्रदेशसभा सदस्य छन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

माओवादी केन्द्र र जसपा नयाँ समीकरणमा मिसिएका छन् । राप्रपा शनिबार नै संघीय सरकारबाट बाहिरिई सकेको छ । जसले गर्दा मुख्यमन्त्री कार्कीलाई सरकारमा निरन्तर रहन मुश्किल छ ।

नेकपा एमाले माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा गत पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिको पाँच दिनपछि विश्वासको मत लिएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशमा रहेका १३ मध्ये चार वटा मन्त्रालय घटाउने निर्णय गरेका थिए ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो केन्द्रमा नयाँ समीकरण बनेपनि प्रदेशका बारेमा निर्णय भइनसेको बताउँछन् । उनले तत्काललाई प्रदेश सरकारमा आफ्नो पार्टीको समर्थन यथावत रहेको बताए । ‘माथि नयाँ समीकरण बन्यो, प्रदेशमा हाम्रो समर्थन कायम छ’, उनले भने, ‘तत्काल समर्थन फिर्ता लिने सोचेका छैनौं ।’ उनले परिस्थिति अनुसार अगाडि बढ्ने बताए ।

नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी पनि केन्द्रमा नयाँ समीकरण बनेपनि प्रदेशको हकमा दलहरुले निर्णय गरिनसकेका कारण परिस्थिति र कानुन अनुसार अगाडि बढ्ने बताउँछन् । उनले भने, ‘समर्थन फिर्ता लिए प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्छ, त्यसपछि परिस्थिति अनुसार अगाडि बढ्छौं ।’

अनलाईन खबर डट कमबाट साभार

सम्बन्धित समाचार