खाँदबारी । चिचिला गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने अभियानअन्तर्गत २५ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर (हाते ट्याक्टर) वितरण गरेको छ।
आइतबार गाउँपालिका परिसरमा आयोजित कार्यक्रममा कृषकहरूलाई मिनिटिलर हस्तान्तरण गरिएको हो। यसअघि चालु आर्थिक वर्षको गत माघ महिनामा १४ जना कृषकलाई मिनिटिलर वितरण गरिएको थियो। आइतबार वितरण गरिएका २५ वटासहित चालु आर्थिक वर्षमा मात्रै ३९ जना कृषक लाभान्वित भएका छन्।
गाउँपालिकाका अनुसार कृषकहरूमा परम्परागत रूपमा गाईगोरु प्रयोग गरेर खेती गर्नुभन्दा यान्त्रिक उपकरणमार्फत खेती गर्न सहज हुने भएकाले मिनिटिलरप्रति आकर्षण बढ्दै गएको छ। कृषकहरूको यही मागलाई मध्यनजर गर्दै गाउँपालिकाले विभिन्न स्रोतबाट बजेट व्यवस्थापन गरी मिनिटिलर खरिद गरेर वितरण गरेको हो।
हिउँदे अधिवेशनबाट विनियोजित ५ लाख रुपैयाँ, वडा नम्बर ५ बाट विनियोजित १ लाख रुपैयाँ, सुन्तलाजात फलफूल कार्यक्रमअन्तर्गत २ लाख २० हजार रुपैयाँ तथा सोही बराबरको कृषकहरूको लागत साझेदारीमा २५ वटा मिनिटिलर खरिद गरिएको कृषि शाखाले जनाएको छ।
गाउँपालिकाले यसअघि पनि ४ लाख रुपैयाँ बजेट विनियोजन गरी १४ वटा मिनिटिलर वितरण गरेको थियो। कृषकहरूको अत्यधिक मागका कारण पुनः बजेट व्यवस्थापन गरी थप उपकरण वितरण गरिएको कृषि शाखा प्रमुखले जानकारी दिए।

विगत तीन वर्षदेखि गाउँपालिकाले कृषकहरूलाई मिनिटिलर वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। कृषि क्षेत्रमा यान्त्रिकीकरण बढाउन र श्रम अभावको समस्या समाधान गर्न कार्यक्रम प्रभावकारी बन्दै गएको जनप्रतिनिधिहरूको भनाइ छ।
मिनिटिलर प्रयोग गरिरहेका कृषकहरूले गाईबस्तु पाल्नुपर्ने झन्झट हटेको, छोटो समयमा धेरै क्षेत्रफल जोत्न सकिने तथा श्रम र लागत दुवै बचत हुने बताएका छन्।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले मिनिटिलर प्राप्त गरेका कृषकहरूलाई गाउँका अन्य कृषकलाई समेत सेवा उपलब्ध गराउन आग्रह गरे। सबै इच्छुक कृषकलाई एकैपटक उपकरण उपलब्ध गराउन नसकिएको उल्लेख गर्दै उनले उचित शुल्क लिएर भए पनि अन्य कृषकहरूको खेतबारी जोत्न सहयोग गर्न सुझाव दिए।
चिचिला गाउँपालिकाले आगामी वर्षहरूमा पनि कृषकहरूको माग र आवश्यकताअनुसार कृषि यान्त्रिकीकरणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया