खाँदबारी । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा संखुवासभा ‘नेत्रज्योति उत्कृष्ट जिल्ला शाखा सम्मान’बाट सम्मानित भएको छ। आँखा स्वास्थ्य सेवाको विकास तथा विस्तार, अन्धोपन निवारण अभियानको प्रभावकारी सञ्चालन र संस्थागत सुदृढीकरणमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल नेत्रज्योति संघले उक्त सम्मान प्रदान गरेको हो।
वि.सं. २०६२ सालमा स्थापना भएको जिल्ला शाखाले छोटो अवधिमै जिल्लामा गुणस्तरीय नेत्र सेवा विस्तार गर्दै अग्रणी स्वास्थ्य संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ। संस्थाको स्थापनाका क्रममा समाजसेवी तेजरत्न श्रेष्ठ तथा रत्नकुमारी श्रेष्ठले करिब ६० लाख रुपैयाँ बराबरको जग्गा दान गरेका थिए। उहाँहरूको योगदानको सम्मानस्वरूप उपचार केन्द्रको नाम ‘तेजरत्न आँखा तथा कान उपचार केन्द्र’ राखिएको हो।
श्रेष्ठ परिवारले करिब दुई वर्षअघि थप करिब ७० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुका साथै संस्थाको भौतिक पूर्वाधार तथा भवन निर्माणमा समेत महत्वपूर्ण योगदान गरेको संस्थाले जनाएको छ।
संस्थाको विकासमा सेवा फाउन्डेसनको सहयोग पनि महत्वपूर्ण रहेको उल्लेख गरिएको छ। स्थापना कालदेखि नै फाउन्डेसनले उपचार केन्द्रको विकास, भवन निर्माण, उपकरण व्यवस्थापन, विशेषज्ञ सेवा विस्तार, मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम, आँखा स्वास्थ्य शिविर सञ्चालन तथा निःशुल्क चस्मा वितरणलगायतका कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आएको छ।
हाल नेपाल नेत्रज्योति संघ जिल्ला शाखा संखुवासभाले खाँदबारीस्थित तेजरत्न आँखा तथा कान उपचार केन्द्रसँगै मकालु, सिलिचोङ, सभापोखरी, धर्मदेवी र चैनपुर आँखा उपचार केन्द्रमार्फत जिल्लाभर नेत्र सेवा प्रदान गरिरहेको छ। खाँदबारी र चैनपुर केन्द्र प्रत्यक्ष रूपमा संस्थाद्वारा सञ्चालित छन् भने अन्य केन्द्र स्थानीय तहसँगको सहकार्यमा सञ्चालन भइरहेका छन्।
संस्थाले वार्षिक रूपमा २५ हजारभन्दा बढी सेवाग्राहीलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। प्रत्येक वर्ष ५०० भन्दा बढी मोतियाबिन्दु शल्यक्रिया, ३० भन्दा बढी फेको (Phaco) प्रविधिबाट फोल्डेबल लेन्स प्रत्यारोपणसहितको आधुनिक शल्यक्रिया तथा ४०० भन्दा बढी विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिँदै आएको छ। साथै जिल्लाका अधिकांश पालिकामा नियमित आँखा परीक्षण, मोतियाबिन्दु पहिचान तथा शल्यक्रिया शिविर सञ्चालन हुँदै आएको छ।
संस्थाले प्राप्त गरेको यो सम्मान संस्थापक, दाता, सेवा फाउन्डेसन, स्थानीय तह, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, शुभेच्छुक तथा सम्पूर्ण सेवाग्राहीहरूको साझा उपलब्धि भएको जनाएको छ।
संस्थाले आगामी दिनमा पनि ‘सबैका लागि दृष्टि’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै गुणस्तरीय, पहुँचयोग्य र दिगो नेत्र सेवा विस्तारका लागि निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया