काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकासमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरुको आलोचना गरेका छन् ।
यसैगरी राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् ।
रुसले आक्रमण गरेदेखि युक्रेनले आफ्नो देशको आकाशमा ‘नो फ्लाई जोन’ बनाउन माग गर्दै आएको छ । तर यसो गर्दा रुस–युक्रेन युद्ध अन्य देशमा पनि फैलिन सक्ने भन्दै नेटो गठबन्धले ‘नो फ्लाई जोन’ घोषणा गर्न अस्वीकार गर्दै आएको छ । यसप्रति युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आक्रोश प्रकट गरेका छन् ।
एक भिडियो सन्देशमार्फत् युक्रेनी जनतालाई सम्बोधन गर्ने क्रममा उनले ‘नो फ्लाई जोन’ लागु नगर्दा युक्रेनमा रुस थप आक्रामक बन्दै जाने उल्लेख गरेका छन् । साथै उनले युक्रेनमा आक्रमण गर्न पश्चिमा देशहरुले रुसलाई लाइसेन्स दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
राजधानी किएभबाट जारी भिडियो सन्देशमा जेलेन्स्कीले भनेका छन्, ‘आज नेटो गठबन्धनको नेतृत्वले नो फ्लाई जोन लागु गर्न अस्वीकार गरेर रुसलाई युक्रेनका शहर र गाउँहरुमा बमबारी जारी राख्न अनुमति दिएको छ ।’ युक्रेनमा गरिएको आक्रमणको पश्चिमा देशहरुले विरोध गर्दै हतियार सहयोग गरे पनि रुसी सेनासँग लड्न आफ्ना सैनिक भने पठाएका छैनन् ।
यसअघि नेटोका महासचिव एस स्टोलटेनवर्गले युक्रेनको भयावह अवस्थाबारे थाहा हुँदाहुँदै पनि नो फ्लाई जोन घोषणा गर्न नसकिने बताएका थिए । पश्चिमा देशका नेताहरुले नो फ्लाई जोन बनाउँदा रुसले पश्चिमी देशका विमानहरुलाई आक्रमण गर्ने र युद्ध झन् भयावह हुनसक्ने बताउने गरेका छन् ।
रुस–युक्रेन युद्ध चर्किंदै गएपछि युरोपेली देशको सुरक्षाका लागि भन्दै नेटोले पूर्वी युरोपमा विशेष तालिमप्राप्त सेनाको तैनाथी भने बढाएको छ । साथै युरोपको आकाशमा हवाई गस्ती पनि गरिरहेको छ ।
प्रतिक्रिया