एमाले अध्यक्ष ओलीद्वारा झापा विद्रोहका योद्धाको शालिकमा माल्यार्पण



झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुखानी हत्या काण्डका सहिदहरूको शालिकमा माल्यार्पण गरेका छन्। शनिवार बिहान गृह जिल्ला झापा आइपुगेलगत्तै ओली सुखानी हत्या काण्डले परिचित झापा विद्रोहका योद्धालाई सम्झिन अर्जुनधारास्थित सुखानी सहिद स्मृति प्रतिष्ठान पुगेका थिए।

५० औं सुखानी स्मृति दिवसको अवसरमा ओलीले झापा विद्रोहका सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको शालिकमा माल्यार्पण गरेका हुन्। साथै‚ उनले प्रतिष्ठानभित्र बिरुवा समेत रोपे।

झापा र इलामको सीमामा पर्ने इलामको माई नगरपालिका(४ सुखानी जंगललमा पञ्चायती शासकले इलाम जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गते उनीहरूको गोली हानी हत्या गरेको थियो। २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिस्टको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ।

अध्यक्ष ओली शनिवार दिनभर विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ। आज कमल गाउँपालिका(६ खयरवारिमा रतुवा–मावा तटबन्धको शिलान्यास, बिर्तामोडमा प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनको उद्घाटन, बिर्तामोडमै नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनको उद्घाटन र झापा गोल्डकपको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ओली आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको जनाइएको छ।

सम्बन्धित समाचार