फागुनमै फुल्यो लालीगुराँस



म्याग्दी । लालीगुराँस फुलेकाले म्याग्दीका जंगल राताम्य भएका छन्। अन्नपूर्ण, रघुगंगा, मालिका, मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरूमा ढकमक्क लालीगुराँस फुलेको छ। लालीगुराँसको फूलले वनजंगल रंगिन थालेपछि आन्तरिक पर्यटकहरू लेकतिर उक्लिन थालेका छन्।

सामान्यतः चैत‚ वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने साविकको समयभन्दा अघि नै फुलेको छ। यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेको स्थानीयहरू बताउँछन्। काफल, ऐंसेलुजस्ता जंगली फलहरु पनि सिजनभन्दा अघि नै फुलेका छन्।

बेनी नगरपालिका २ ज्यामरुककोटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले केही वर्षदेखि समयभन्दा अघि नै लालीगुराँस फुल्न थालेको बताए। ‘लालीगुराँस फूल चैत–वैशाखमा फुल्ने गर्दथ्यो‚’ उनले भने ‘तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ।’

लालीगुराँस मात्रै नभएर अन्य फुलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको मालिका गाउँपालिका(३ का जगबहादुर विकले बताए। उनले भने‚ ‘अहिले बेमौसममा नै काफल, तिजुलगायत जंगली फल पाकेको र गुराँस फुलेको पाइएको छ।’

फागुन मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु जलवायु परिवर्तनको असरका कारण यस्तो भएको सरोकारवालाहरू बताउँछन्। वातावरणविद चन्द्रमणि सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु वातावरणीय असर हो। विश्वमा बढ्दो तापक्रम बृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तनहरु भैरहेका छन्।

उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल‚ वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन्।

सम्बन्धित समाचार