पहाडी जिल्लामा आज होली मनाइँदै, सभ्य बन्दै पर्व



काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा चीरोत्थान गरेसँगै राजधानीमा हिँड्नै नसकिने गरी फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको छ। केही वर्षदेखि राजधानीमा रङको पर्व फागु पूर्णिमा अर्थात् होली अहिले सभ्य बन्दै गएको छ। केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै युवती प्रायः सडकमा निस्कदैनथे। फागु पर्व सभ्य हुन थालेपछि भने बुधबार पनि राजधानीमा युवतीको चहलपहल पूर्ववत् रह्यो। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। विसं २०७६ देखि भने कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्व थप सजगताका साथ मनाउन थालिएको छ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। विगत वर्षजस्तै यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ। साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ।

विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरुपमा हिँडडुल गर्न सकेको कीर्तिपुरबाट नयाँबानेश्वरको कार्यालयमा आउनुभएकी रमिला महर्जनले सुनाए।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।

सम्बन्धित समाचार