खाँदबारी । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुदा मत बदरको संख्या बढ्ने देखिएको छ । यस पटक फरक दलहरु विच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना अझ बढेको हो ।
स्थानीय तहको निर्वाचनमा मतदान गर्नु पर्ने उमेद्वारहरुको संख्या धेरै हुने तर मतदाताहरुले थोरैलाई मात्र मतदान गर्ने गरेको छ । एउटा पालिकामा ७ जनालाई भोट दिनु पर्ने तर सो कुरा धेरैलाई थाहा नहुने हुदा त्यस्तो हुने अघिल्लो निर्वाचनमा सहायक निर्वाचन अधिकृत भएर काम गर्नु भएका रामराज पौडलको भनाई छ । धेरै मतदाताहरुले सुरु सुरुको मतदान चिन्हमा छाप लगाएर पछिकोमा नलगाउने गरेको पाईएको पौडेलले अनुभव सुनाउनुभयो ।
यस बर्ष सत्तासिन दलले छिटफुट बाहेकको स्थानीय तहहरुमा आ–आफ्नै चुनाव चिन्हबाट प्रतिष्पर्धा गर्ने गरि गठबन्धन बनाएपछि मतदाताहरु अन्योल हुने सम्भावना बढेको छ । गठबन्धन गर्ने दलहरुको उमेद्वार नभएको पालिकामा समेत मतदान चिन्ह हुने गरेकोले मत खेर जाने सम्भावना रहेको छ । सङ्खुवासभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकिकृत समाजवादी) ले पालिका स्तरमा र उक्त दलहरु सहित जनता समाजवादी पार्टीले वडा स्तरमा गठबन्धन गरेको छ । सङ्खुवासभामा पनि उक्त दलहरुले आ–आफ्नै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका हुन् ।
यस बर्षको निर्वाचनका लागि हालसम्म मतदाता शिक्षा कार्यक्रम माथिल्लो निकायबाट प्राप्त नभएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख जय प्रकाश बस्नेतले जानकारी दिनुभयो । अघिल्लो निर्वाचनहरुमा स्थानीय रेडियो तथा सञ्चार माध्यमहरुबाट सन्देश मुलक सामग्री प्रसारण गरिने गरेकोमा यस पटक हालसम्म त्यस्ता कार्यक्रम नगरिएको बताउनुभयो । मतदान गर्ने अवधि अझै २ हप्ता बाँकी रहेकोले कार्यक्रम आए प्रभावकारी ढंगबाट सञ्चालन गरिने समेत बस्नेतले बताउनुभयो । हालसम्म नमुना मतदान कार्यक्रम गर्ने भन्ने मात्र आएको र सो कार्यक्रम शुन्य समय सुरु हुनु केहि दिन अघि सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाई छ ।
गोरखापत्र दैनिकबाट साभार ।
प्रतिक्रिया