हेटौंडा । माओवादी केन्द्रबाट मकवानपुर बकैया गाउँपालिकाका अध्यक्षमा उम्मेदवारी दिएकी लक्ष्मी माझीले उम्मेदवारी फिर्ता लिएकी छन्।
स्थानीय निर्वाचनका लागि बकैयाको अध्यक्षमा उम्मेदवारी दिएकी माझीले गठबन्धनबाट उम्मेदवार बनेका धर्मराज लामिछानेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्। पार्टी केन्द्रको निर्देशनअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छिन्।
वैशाख १२ गते माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएकी उनले शुक्रबार बकैया गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिए।
गठबन्धनको सहमतिअनुसार अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ। वडाहरूमा भने स्थानीय सहमतिका आधारमा हुने जनाइएको छ।
प्रतिक्रिया