भरतपुरमा कांग्रेस नेता पौडेलले उम्मेदवारी फिर्ता लिएनन्



चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् ।

उनलाई उम्मेदवारी फिर्ता गराउनका लागि गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले दुई दिन भरतपुरमै बिताएका थिए । तर पौडेलले अडान नछोडेपछि उनीहरु शुक्रबार दिउँसो काठमाडौं फर्किएका थिए ।

उनीहरुले पौडेलको उम्मेदवारी फिर्ता गराउने प्रयासस्वरुप पौडेलका समर्थक कृष्णलाल सापकोटा लगायतका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । तर उनीहरुले पनि उम्मेदवारी फिर्ता गर्न मानेनन् । ‘उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकले नै उम्मेदवारी फिर्ता लिन मान्नुभएन,’ छलफलमा सहभागी एक नेताले भने ।

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई समर्थन गर्ने निर्णय गरेका थिए ।

तर कांग्रेसका नेता पौडेलले पनि मेयरमा उम्मेदवारी दिए, र फिर्ता लिन मानेनन् । शुक्रबार विहान मन्त्री खाँण र श्रेष्ठले पूर्व सभापति सापकोटा र श्रेष्ठसँग करिब डेढ घण्टा कुराकानी गरे । तर, उम्मेदवारी फिर्ता लिन आफूहरु तयार नभएको पूर्वसांसद भीमबहादुर श्रेष्ठले बताए ।

‘उम्मेदवारी कायम रहँदा सत्ता गठबन्धन नै तलमाथि हुनसक्छ भनेर मन्त्रीज्यूहरुले भन्नुभयो,’ नेता श्रेष्ठले भने, ‘स्थानीय तहको निर्वाचनको साइनो केन्द्रीय गठवन्धनसँग नहुने जवाफ हामीले दियौं ।’

बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसमेत पौडेललाई मनाउन उनको घरमै पुगेका थिए । तर उम्मेदवार फिर्ता लिनुको साटो पौडेलले चुनावी तयारी थालेका छन् ।

वैशाख १७ गते ९भोलि० निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरेपछि चुनावी अभियान लिएर घरदैलोमा जाने पौडेलका समर्थक कांग्रेस कार्यकर्ता दीपक अधिकारीले बताए ।

सम्बन्धित समाचार