खाँदबारी नगरपालिका : उपमेयरका प्रत्यासी दिव्य बराललाई चार प्रश्न



स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलका उम्मेदवारहरु जनताका घरदैलोसम्म पुग्न थालेका छन् । दलका आआफ्नै प्रतिज्ञा र घोषणापत्र लिएर चुनावी अभियानमा उम्मेदवार, दलका नेता र कार्यकताहरु मतदातासम्म मत माग्न व्यस्त छन् । संखुवासभालाई पछिल्लो अवस्थामा हेर्ने हो भने गठबन्धन दल र प्रतिदन्दीको रुपमा रहेको नेकपा एमालेबिचमै प्रतिस्पर्धा हुने देखिएको छ ।

यसबिचमा खाँदबारी नगरपालिकाको नगर उपप्रमुख पदमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका दिव्यराज बराल र एमालेका महेश्वरा बज्रचार्यको चुनावी अंक गणित हुन थालेको छ । गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धामा देखिएका छन् । उनीहरु विकासका एजेण्डा लिएर मतदातका घरदैलो पुगिरहेका छन् । यसक्रममा खाँदबारी नगरपालिकाको नगर उपप्रमुख पदका गठबन्धनका साझा उम्मेदवार दिव्यराज बरालसँग पत्रकार खेवाहाङ मेवाहाङले चार प्रश्न सोधेका छन् ।

१. तपाईको उम्मेदवारी केका लागि ?
खाँदबारी नगरपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी सुशासन कायम गर्न सकिन्छ भन्ने सन्दर्भमा र खाँदबारी अहिले जसरी चलिरहेको छ त्यसभन्दा फरक ढंगबाट अनुसाशित र सुशासित बनाउनलाई नै हाम्रो उम्मेदवारी हो । हाम्रो कार्यकालमा मुख्यत भ्रष्टचाररहीत नगरपालिका हुनेछ । सुशासनयुक्त नगरपालिका हुनेछ र समृद्ध नगरपालिका हुनेछ भन्ने हाम्रो एजेण्डा हो ।

२. तपाईको प्रतिवद्धता के के हुन् ?
खाँदबारीको सन्दर्भमा कृषि क्षेत्रमा ल्याउने आमुल परिवर्तनमा केन्द्रित छ । यहाँको हरेक भूगोलको माटो तथा वातावरणीय मुल्यांकन, जैविक परिक्षण गर्ने र जुन भूगोलमा उत्पादनको हिसाबजे जे सुहाउँछ भनेर हामी रिसर्च गर्नेछौं । संगसंगै कृषकहरुलाई हरेक टोलटोलमा कृषि सहकारी उत्पादन गर्ने र त्यो सहकारी मार्फत किसानहरुलाई परिचालन गर्ने, प्रोत्साहित गर्ने, वहाँहरुलाई कृषि औजार र क्षमता विकासका कार्यहरु अघि बढाउनेछौं । जसका कारण खाँदबारलिाई कृषि उत्पादनको आधार क्षेत्र बनाउन सकियो भने यो एउटा आर्थिक पाटो बन्छ भन्ने हाम्रो बुझाई हो । र यो सम्भव पनि छ । सबै तहका सरकारले कृषिलाई नै प्राथमिकतामा राखेर बजेट बाँडफाट गरिरहेको अवस्थामा यो कुरा हामी सम्भव देख्छौं ।

दोस्रो कुरा यहाँ युवा वेरोजगार अली बढी नै छन् । यस प्रतिचाहीँ हामी हाम्रो उम्मेदवारी लक्षित छ । र हामी भोली निर्वाचित भएर यो नगरको नेतृत्व गरिरहँदा पहिलो कुराचाहीँ हामी एक घर एक रोजगारको व्यवस्था मिलाइने छ । न्युनतम हाम्रो यो नारा हुनेछ र प्रतिबद्धता हुने छ, त्यो हामी पुरा गर्नेछौं । यसो गर्दै गर्दा त्यो कसरी सम्भव छत भन्दै गर्दा कम्तीमा पनि नगर क्षेत्रभित्र बहुउद्धेश्य शिप विकास केन्द्र स्थापना गर्ने त्यहाँ हरेक किसिममा तालिम सञ्चालन गर्ने र युवाहरुलाई स्वरोजगार प्रदान गर्नेछौं ।

यस्तै प्राकृतिक क्षेत्रहरुको विषयमा खाँदबारी नगरपालिका यस्तो ठाउँ हो जहाँ प्राकृतिक हिसाबले अत्यन्तै राम्रो मान्न सकिन्छ । आधाघण्टाको दुरीमा तराइर्, पहाड र हिमाली हावापानीको अनुभव गर्न सकिन्छ । साथै यसै नगरमा विभिन्न जातजातिको बसोबास रहेको छ । यस हिसाबमा प्राकृतिक र सांस्कृतिक दुवै पक्षाको पहिचान र संरक्षणमा हाम्रो जोड हुने छ ।

अर्को चाहीँ खाँदबारी नगरपालिकामा ११ वटा वडाहरु छन् । जसर्मा वार्षिक ८०÷८५ करोड रुपैंया विकासे बजेट आउँछ । तर यो बजेटलाई अहिलेसम्म केन्द्रिकृत रुपमा नियन्त्रण गरिएको छ । नगरपालिकाले कब्जामा राखेको छ र वडालाई स्वतन्त्र बनाउने र सार्वभौम बनाउने तिर अहिलेको नेतृत्व छैन । त्यसो हुँदा भोली हामी आउँदै गर्दा अहिले वडाको विकासमा जुन किसिमको बजेट छुट्याइन्छ, यसलाई हामी करिब ४ गुणा बढी विनियोजन गर्छाैं । किनभने वडाहरु आत्मनिर्भर बनाउन सकिएन भने त्यो एकदम गाह्रो हुन्छ । अहिले भइरहेको के छ भने अलि ठूला योजनाहरु नगरपालिकाले नियन्त्रण गर्ने अनि २÷५ लाखका योजनाहरु चाहीँ वडालाई दिइएको छ । त्यहीँ योजना पनि नगरपालिकामा सम्झौता र फारफराक गर्न आउनु पर्ने समस्या छ , यसलाई वडामानै व्यवस्थापन गर्ने हाम्रो लक्ष्य हो । यस बाहेक वडाका ठूला आयोजनाहरु वडासंगै समन्वय गरेर विकासका प्रक्रियामा अघि बढाउँछौं

३ तपाई प्रतिदन्द्धी भन्दा अब्बल कसरी ?
हामीले जनताको निम्ति आदिबासी, दलित जो लिंग बर्गको निम्ति हामीसँग निक्कै लामो अनुभव छ । हामी उनीहरुको चाही घरघरमा मनमनमा पुगेर वहाँहरुको सबै कुराको भावना बुझेकाछौं । हिजो हामी आउँदा पनि त्यहीँ मान्छेहरुलाई आधार बनाएर आएकाछौं । त्यसैले वहाँहरुप्रति हामी अहिले पनि उत्तरदायी छौं । त्यसो हुँदा हामीसँग इमान्दारिता छ ।

वर्गप्रति जनताप्रति र राष्ट्रको समृद्धीप्रति हामीसँग इमान्दारिता भएको कारणले नै हामी अब्बल छौं भन्ने लाग्छ । किनभने हामी यो नगरलाई कसरी विकास गर्ने, कसरी समृद्ध बनाउने भन्ने हामीसँग योजना छ । भिजन छ ।

४. चुनावी अभियान कसरी अघि बढीरहेको छ ?
चुनावी अभियान निर्वाचन आयोगले तोकेको मापदण्ड आचारसंहिता अनुसार शान्त ढंगले चलिरहेको छ । स्वच्छ वातावरणमा बैचारिक हिसावले मुद्दा घोषणा पत्र लिएर जनताका घरदैलोमा मत माग्न पुगिरहेका छौं । अहिलेको अभियानलाई मितव्ययी ढंगबाट चुनाव प्रचारप्रसार गरिरहेका छौं । चुनावी अभियानका क्रममा आजसम्म कुनैपनि दलसँग विवाद पनि भएको छैन ।

हाम्रो भनाई विकासका मुल एजेण्डालाई अघि बढाउनु पर्छ भन्ने हो । हामी स्पष्ट विचार, स्पस्ट विकासका कुरा लिएर मतदाताको घरदैलोसम्म पुगेका छौं । संयुक्त उम्मेदवार मिलेर सामूहिक रुपमा घरदैलो अभियान चलिरहेको छ ।

सम्बन्धित समाचार