चिचिला गाउँपालिकामा सुरुवाती चरणमा सौहार्दपूर्ण मत गणना भईरहेको थियो । वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल जितिसकेको थियो भने वडा नम्बर २ मा एक सदस्य बाहेक सवै पदमा कांग्रेसले जितिसकेको थियो ।
यस अवधिसम्ममा नेकपा एमालेको प्रतिनिधीको रुपमा शिक्षक विश्वरसिंह मेवाहाङ गणना स्थलमा थिए । जव वडा नम्बर ३ को गणना गर्ने बेला आयो तव त्यहाँका कांग्रेस नेताहरुले शिक्षकलाई दलको प्रतिनिधीबाट हटाउन माग राखे । वडा नम्बर १ र २ को गणना गर्दा त्यहाँका प्रतिनिधीहरुले शिक्षकलाई प्रतिनिधी स्वीकारे पनि आफुहरुले नस्विकार्ने भन्दै विरोध सुरु गरे । शिक्षकलाई राजनितिक दलकाे प्रतिनिधी राख्न नहुने र उनी पक्षपाति रहेकाे उनीहरुकाे आराेप थियाे ।
बिवादका विच पनि शिक्षक मेवाहाङ हट्न नमानेपछि बिवाद चर्किदै गयो । बिवादले उग्र रुप लिने क्रममा वडा नम्बर ३ का कांग्रेस समर्थक एक युवा रनेश राईले चिचिला २ का बिनोद कुमार राई माथी हातपात गर्यो । तर तत्काल प्रहरी र सँगै रहेकाहरुले छुट्याए । तत्पश्चात एमाले निकटका कार्यकर्ताहरुले हातपात गर्नेमाथी प्रहरीले कारवाहि गर्नु पर्ने माग राखे ।
बिवाद मिलाउनका लागि रनेश लाई मत गणना स्थल क्षेत्र भित्र लिएर फर्किदै गरेका नेपाली कांग्रेसका नेता राजेन्द्र घले माथी नेकपा माओवादीको युवा संगठन वाईसियलका संखुवासभा ईन्जार्च अनिल राई (वकिल) ले हातपात गर्यो । अनिलले घले माथि हातपात गरेपछि घटनाले अर्को रुप लियो । यस अघिसम्म एमाले र कांग्रेसको मात्र बिवाद रहेकोमा अब माओवादी पनि मिसियो । हुन त त्यस अघि सम्मको बिवादमा पनि माओवादी एमालेकै पक्षमा थियो ।
आफ्ना नेता माथी हातपात भएपछि कांग्रेस कार्यकताहरु उग्र बने । अनिल लगायतलाई लक्षित गरेर अगाडी बढेका कांग्रेस पक्षका युवाहरुलाई रोक्न प्रहरीलाई हम्मेहम्मे भयो । तर प्रहरीले झडप हुनबाट रोक्यो र चिचिला बजारको पञ्चकन्य आधारभुत विद्यालय खेल मैदानको एकापटि माओवादी एमाले पक्ष र अर्कोपटि कांग्रेस पक्षलाई राख्यो ।
यो घटनापछि एमाले र माओवादी पक्षले मतगणना स्थल छोडेर गए । माओवादी र एमालेले सनिबार साँझ संयुक्त विज्ञप्ती निकाल्दै वडा नम्बर ३ को पुनः मत गणना गर्नु पर्ने लगायतका माग राखेका छन् र निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । उक्त बिवादको क्रममा नै मतपेटिकाको शिल खोलिसकिएको र त्यहाँ आफुहरुको उपस्थिती नभएकोले धाँदली भएको हुनसक्ने भन्दै माग राखे ।
यस घटनापछि निर्वाचन कार्यालय चिचिलाले पटक पटक सर्वदलीय बैठक बोलाए पनि एमाले र माओवादी पक्ष बैठकमा नआएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिवादको निकाश निकाल्न अझै पनि सवै दलसँग समन्वय भईरहेको बताईएको छ । बिवादको निकाश ननिस्केपछि मुख्य निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतको स्वीकृतिमा मुचुल्का उठाई मतपत्रहरु उठाएर सुरक्षित राखिएको सहायक निर्वाचन अधिकृत शुक्रादेवी राईले जानकारी दिए ।
प्रतिक्रिया