सिम्रौनगढमा लोसपाको विजय जुलुसमा झडप, ७ जना घाइते



वीरगन्ज । बाराको सिम्रौनगढ नगरपालिकामा निर्वाचित लोसपाका समथर्क र पराजित कांग्रेसका समर्थकबीच झडप भएको छ। नगरपालिकामा निर्वाचित लोसपाका जनप्रतिनिधि र समर्थकहरुले शनिबार साँझ विजय उत्सव मनाउँदै निकालेको जुलुसले नगरको परिक्रमा गर्ने क्रममा लोसपा र कांग्रेसका समर्थकबीच झडप भएको हो।

सिम्रौनगढ नगरपालिका १० टेटामा भएको झडपमा दुवै पक्षका गरि ७ जना घाइते भएका छन्। विजय जुलुसमा प्रयोग गरिएका ५ वटा मोटरसाइकल र एउटा जिपमा तोडफोड पनि भएको छ। घाइते हुनेहरुमा स्थानीय सरोज कुमार यादव , सुनिल कुमार यादव , कृष्ण कुमार यादव, मिथुन पासवान, राजन साह लगायतका रहेका छन्।

घाइतेहरुको सिम्रौनगढ नगरअस्पताल र कलैया स्थित प्रादेशिपक अस्पतालमा उपचार भइरहेको छ। नगरपालिकाको मतगणना सकिएपछि लोसपाबाट विजयी भएका मेयर किशोरीप्रसाद कलवार र उपमेयर नजमु शेहरको विजय जुलुस टेटा गाउँमा पुगेपछि विजय जुलुसमा लोसपाका समर्थकले बेलुन भित्र मोबील भरेर स्थानीयलाई हानेको भन्दै कांग्रेसका समर्थकहरुले विवाद गरेका थिए।

विवाद बढ्दै गएपछि दुवै पक्षबीच झडप भएको स्थानीय रामेश्वर मेहताले बताए। सिम्रौनगढ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर र उपमेयरलाई हराउँदै लोसपाका किशोरी प्रसाद कलवार र नजमु शेहर विजयी भएका हुन्।

सम्बन्धित समाचार