जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले शपथ ग्रहण गरेको पहिलो दिनमै टेलिफोन सेवा नियमित सञ्चालन गर्नु भएको छ ।
सिञ्जाको नराकोटमा भएको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको बेला नव निर्वाचित अध्यक्षको पहलमा टेलिफोन सेवालाई नियमित बनाइएको हो । स्थानीय डिल्लीप्रसाद तिवारीकाअनुसार अहिले सजिलै टेलिफोन लागिरहेको छ ।
अध्यक्ष धिताल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ लिएसँगै नेपाल टेलिकम जुम्लाको कार्यालयमा छिर्नुभएको थियो । नेपाल टेलिकमले बत्तीको पावर कम भएको पत्ता लगाएपछि आवश्यक सोलार ब्याट्री व्यवस्थापन गरिएको हो ।
२ सय भोल्टका ४८ वटा ब्याट्री र प्राविधिक लिएर शनिवार नै अध्यक्ष धिताल सिंजा जानुभएको थियो । नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीकाअनुसार समस्या आइरहेको टेलिफोन सेवा पूर्णरुपमा सुध्रिएको छ । यसअघि सिंजा गाउँपालिकामा बिहान बेलुका र घाम नलागेको दिन फोन सेवा बन्द हुने गरेको थियो।
अध्यक्ष धितालको पहलमा जुम्लामा रहेको टेलिकमको कार्यालयमा पुगेर १ हजार ५ सय ६० किलो वजनको नयाँ ब्याट्री ल्याइएको र प्राविधिकसहितको टोली गाउँपालिकामा पठाइएको नेपाल टेलिकमका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सिंजा गाउँपालिकाको वडा नं ४ को भुलीटावरमा नयाँ ब्याट्री जडान गरिएको छ ।
प्रतिक्रिया