वीरगञ्जमा राजेशमान र इम्तियाजको जित सुनिश्चित



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि राजेशमान र इम्तियाजको जित सुनिश्चित भएको हो ।

वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ९३ हजार ७ सय ८२ मत खसेको थियो । ७७ हजार ५७७ मत गणना भइसकेको भने अब १६ हजार २०५ मत गणना हुन बाँकी छ ।

तर जसपाका मेयर उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा १८ हजार ७५८ मत अन्तरले अगाडि छन् ।

यो गणना हुन बाँकी १६ हजार २०५ मतभन्दा २ हजार ५५३ मत बढी हो । त्यसैले राजेशमानको जित सुनिश्चित भएको हो । राजेशमानले ३८ हजार ४३७ र सरावगीले १९ हजार ६७९ मत ल्याएका छन् ।

राजेशमान, ०७४ सालमा निवर्तमान नगर प्रमुख एवं हाल एमालेका तर्फबाट मेयर उम्मेदवार सरावगीसँग पराजित भएका थिए । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा उठेका सरावगीले १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा थिए । यसपटक सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेशमानले शुरुदेखि नै अग्रता कायम राखे ।

मेयर पदका अर्का प्रत्यासी राप्रपाका गिरीश गिरीले ३ हजार ४५८ मत पाएका छन् ।

सम्बन्धित समाचार