काठमाडौं । लामो समयसम्म मधेश प्रदेशको विवाद समाधान नहुँदा स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपरेको निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले केन्द्रबाटै हस्तक्षेपको तयारी गरेको छ ।
गत २५ मंसिरमा सबै प्रदेशको एकसाथ सम्मेलन उद्घाटन भई अन्य सबै प्रदेशमा नयाँ नेतृत्व आउँदा समेत मधेश प्रदेशमा भने समिति नै बन्न सकेको छैन । मधेशका अधिकांश पालिकामा समेत नेतृत्व विवाद टुंगिएको छैन । विवाद समाधान नगरी स्थानीय तहको चुनावमा होमिएको माओवादी केन्द्रले मधेशमा नराम्ररी धक्का समेत खाएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा २१ पालिका प्रमुख जितेको माओवादी यसपालि देशभर समग्रमा बढाउँदा पनि मधेश प्रदेशमा ९ पालिकाको नेतृत्वमा मात्रै खुम्चिएको छ । विवाद समाधान गर्ने पटक–पटकको प्रयासका असफल भएपछि केन्द्रबाटै हस्तक्षेपको तयारी गरिएको छ ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आगामी असार १५ मा बस्ने केन्द्रीय समितिको बैठकमा मधेश प्रदेशको विवादबारे निर्णय हुनेछ । ढकालले अनलाइनखबरसँग भने, ‘१५ गते केन्द्रीय समितिको बैठक छ । केन्द्रीय समितिकै बैठकले आवश्यक निर्णय गर्छ ।’
त्योभन्दा पहिले मधेश प्रदेशका नेताहरुसँग बसेर अन्तिम पटक मिलाउन कोशिस गर्ने उनी बताउँछन् । ‘केन्द्रीय समिति बैठकअघि प्रदेशमै जिम्मेवार साथीहरुसँग बस्ने कुरा भएको छ’, ढकालले भने, ‘त्योबाट पनि भएन भने केन्द्रीय समितिले आवश्यक निर्णय त गर्छ । विवादले स्थानीय तहको निर्वाचनमा पनि असर गरेको छ । सधै बन्धक बनाएर राख्ने कुरा हुँदैन ।’
प्रतिक्रिया