तेस्रो टी ट्वेन्टी क्रिकेटमा श्रीलंका पराजित, अष्ट्रेलिया ४१ रनले विजयी



फागुन ११ – अष्ट्रेलियासँगको तेस्रो टी ट्वेन्टी क्रिकेटमा श्रीलंका ४१ रनले पराजित भएको छ । अष्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभरमा पुरै विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

बुधबारको खेल हारेपनि श्रीलंकाले तीन खेलको सिरिज भने जितेको छ । यसअघिका दुई खेल श्रीलंकाले जितेको थियो । अष्ट्रेलियालाई श्रीलंकाले पहिलो खेलमा पाँच विकेट र दोस्रोमा दुई विकेटले हराएको थियो ।

बुधबार टस हारेपछि ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट जाँदा १ सय ८७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि आरोन फ्रिन्चले ३२ बलमा ५३ रन, मिचेल क्लिङगरले ४३ बलमा ६२ रन, बेन डन्कले २१ बलमा २८ रन, ट्रेभिस हेडले १६ बलमा ३० रन बनाए ।

श्रीलंकाका लसिथ मालिङ्गा र दसुन शनकाले दुई दुई विकेट लिए । यस्तै सेकुग्गे प्रसन्नाले एक विकेट लिए ।

जवाफी ब्याटिङमा आएको श्रीलंकाका लागि दिलसान मुनाविराले २५ बलमा ३७ रन, मिलिन्दा श्रीबर्दनाले २७ बलमा ३५ रन, उपुल थारङ्गाले १२ बलमा १४ रन र कुशल मेन्डिसले १० बलमा १४ रन बनाए । अष्ट्रेलियाका जेम्स फल्कनर र अदम जम्पाले तीन तीन विकेट लिए । यस्तै जे रिचार्डसन र ट्रेभिस हेडले एक एक विकेट लिए ।

सम्बन्धित समाचार