आज राति १२ बजेदेखि मौन अवधि, प्रचारप्रसार गरे कारबाही गर्ने



काठमाडौं: दोस्रो चरणमा असार १४ गते बुधबार १, ५ र ७ प्रदेशका ३५ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार राति १२ बजेपछि मौन अवधि शुरु हुने छ ।

स्थानीय तह निर्वाचन, निर्देशिका अनुसार मौन अवधि लागु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरूको पक्ष वा बिपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता विपरीत निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा राजनीतिक दल, संस्था, उम्मेदवार र व्यक्तिमाथि निर्वाचन आयोग ऐन बमोजिम कारबाही हुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । निर्वाचन आचारसंहिता अनुसार आइतबार मध्यरातबाट उमेदवारले प्रचारप्रसार गर्न नपाउने भएकाले दलहरु अन्तिम दिनको चुनाव प्रचारमा खटिएका छन् । प्रमुख दलका शीर्ष नेतासहित उम्मेदवारहरु चुनावी सभा, र्याली र मतदातासँगको भेटघाटमा व्यस्त छन् ।
मौन अवधि सन्चार माध्यमहरुलाई पनि लागू हुन्छ । यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाश प्रसारण गर्न रोक लगाइएको छ । त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ‘एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने,’ उल्लेख छ ।निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन् ।

सम्बन्धित समाचार