खाँदबारीमा यसरी सम्पन्न भयो विश्व शान्ति पुजा (भिडियो सहित)



खाँदबारी । सङ्खुवासभाका बौद्ध धर्मावलम्बिहरुको संयुक्त आयोजनामा विश्व शान्ति पुजा आयोजना गरिएको छ । डोल्पा जिल्लामा पुर्नजन्म लिनुभएको डोल्पोबुद्ध परम पावन लामा रानाग रिन्छेन रिम्पोछेबाट विश्व शान्तिको कामनाका लागि पुजाको आयोजना गरिएको हो ।

जिल्ला सदरमुकाम खाँदबारीमा शुक्रबार र सनिबार दुई दिन पुजाको आयोजना गरिएको हो । पछिल्लो समय विश्वमा भईरहेको हिंसात्मक गतिविधिहरुको अन्त्य, आम मानिसहरुको मानसिक स्वास्थ्य लाभको कामना सहित पुजाको आयोजना गरिएको आयोजक समितिका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो । विद्वान एवम् सर्वज्ञ धार्मिक गुरुबाट पुजापाठ गरे विश्वमा शान्ति फैलिने विश्वासका साथ पुजाको आयोजना गरिएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

पुजाका लागि गुरु रिन्छेन रिम्पोछे सहित लुम्बिनीबाट ६ जना मुख्य बौद्ध लामा गुरुहरुको उपस्थिति रहेको थियो । अन्य लामा तथा धार्मिक गुरुहरु सङ्खुवासभाबाट सामेल भएका छन् । धर्म गुरुहरुबाट धर्म–देशना स्वरुप चावासुम् (लामा, ईष्टदेव तथा डाकिनी) त्रिमुल गुरुहरुको संयुक्त रुप अतियोग, महारत्न र गणचक्र पुजाको आयोजना गरिएको हो । पुजा शुक्रबार उद्घाटन गरि शनिबार छेवाङ (आर्शिवाद) प्रदान गरि समापन गरिएको हो । पुजाको पहिलो दिन भक्तजनहरु सहित लामा गुरुहरुको टोलीले खाँदबारी नगर परिक्रमा गरेका थिए ।

पुजामा धनकुटा, भोजपुर र सङ्खुवासभाको भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । विश्व शान्ति पुजा सङ्खुवासभाका ६ बौद्ध धर्मावलम्बिहरुको संस्थाले संयुक्त रुपमा आयोजना गरेका हुन् । नेपाल शेर्पा संघ सङ्खुवासभा, तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद सङ्खुवासभा, खाँदबारी भोटियो समाज, शाक्य समाज खाँदबारी, नेपाल तामाङ घेदुङ संघ सङ्खुवासभा र नेपाल नेवा देय दवु सङ्खुवासभाले संयुक्त रुपमा पुजाको आयोजना गरेको हो ।

सम्बन्धित समाचार