जाने होईन त भोजपुर चखेवा महोत्सव ?



खाँदबारी । भोजपुर–खोटाङको सिमानामा रहेको पर्यटकीय स्थल चखेवामा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना हुने भएको छ ।

टेम्केमैयुम गाउँपालिकाको सहयेगमा चखेवा बजार तथा शहरीकरण व्यवस्थापन समितिको आयोजनामा वैशाख १–३ सम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन गरिने आयोजक समितिका बिवेक कुलुङले जानकारी दिएका छन् ।

स्थानीय उत्पादनदेखि विभिन्न परम्परागत सामग्री महोत्सवको आकर्षकको रूपमा रहने उनले बताए । मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि वृतचित्रसमेत प्रदर्शन गरिने भएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, कविता प्रतियोगिता पनि गरिने भएको छ ।

साहित्यकार एवं कलाकारहरू ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायतको प्रस्तुति रहनेछ ।

यसैगरी कलाकारहरु दयाहाङ राई, भीषण मुकारुङ, कमलीकान्त भेटवाल, सुनिता थेगिम, बबिना किराती, चन्द्रकला राई, फुलन्देको आमा उमेश राईलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार