सङ्खुवासभामा पुरुष भन्दा महिला बढी साक्षर, कुन स्थानीय तहमा कति साक्षर ?



फाईल फोटो ।

सङ्खुवासभा, माघ २३ गते । जिल्ला शिक्षा कार्यालय सङ्खुवासभाले निकालेको तथ्याङ्क अनुसार सङ्खुवासभामा पुरुष भन्दा महिलाको साक्षरता प्रतिशत बढी छ । दश स्थानीय तह रहेको सङ्खुवासभामा अधिकांस स्थानीय तहहरुमा महिलाको साक्षरता प्रतिशत बढि देखिएको हो ।

एक लाख ५८ हजार दुई सय २२ जनसंख्या रहेको सङ्खुवासभामा ९५.६३ प्रतिशत साक्षर छन् । जसमध्ये महिलाको साक्षरता प्रतिशत ९५.८७ रहेको छ भने पुरुषहरुको ९५.४ प्रतिशत रहेको छ । तथ्याङ्क अनुसार सवैभन्दा बढी मादी नगरपालिकामा ९८.२६ प्रतिशत महिलाहरु साक्षर छन् । पुरुषहरुको साक्षरता भने ९७.७२ प्रतिशत रहेको छ । त्यस्तै, धर्मदेवी नगरपालिकामा महिलाहरुको साक्षरता प्रतिशत ९७.१९ र पुरुषहरुको ९६.८८ प्रतिशत रहेको छ । सभापोखरी गाउँपालिकामा महिला सक्षरता प्रतिशत ९६.९९ र पुरुषको ९४.६४ छ भने खाँदबारी नगरपालिकाको महिला साक्षरता ९६.६९ र पुरुषहरुको ९५.६४ प्रतिशत रहेको छ ।

चिचिला गाउँपालिकामा पनि महिलाहरुकै साक्षरता प्रतिशत बढी छ । चिचिलामा महिलाहरुको साक्षरता प्रतिशत ९६.०२ रहेको छ भने पुरुषहरुको ९५.३६ मात्र छ । सवैभन्दा दुर्गम मानिएको चिनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिकामा पनि महिलाकै प्रतिशत बढी छ । त्यहाँ ९५.३२ प्रतिशत महिला र ९३.०५ प्रतिशत पुरुषहरु साक्षर छन् । जिल्लाको चैनपुर, पाँचखपन र शिलिचोङ गाउँपालिकामा भने पुरुषहरुको साक्षरता प्रतिशत बढी छ । पाँचखपनमा ९७.५८ प्रतिशत पुरुष ९६.५४ प्रतिशत महिलाहरु साक्षर छन् । चैनपुरमा ९३.७१ महिला र ९४.८१ प्रतिशत पुरुषहरु साक्षर छन् । त्यस्तै शिलिचोङ गाउँपालिकामा ९३.६५ महिला र ९३.९५ प्रतिशत पुरुषहरु साक्षर रहेको तथ्याङ्कले देखाएको छ ।

सङ्खुवासभालाई साक्षर जिल्ला घोषणा गर्न कम्तीमा ९५ प्रतिशत साक्षर हुनु पर्ने प्रावधान भएपनि चार वटा स्थानीय तहमा सो प्रतिशत नपुगेकोले घोषणा गर्न नसकिएको जिल्ला शिक्षा अधिकारी चेतकुमार पोख्रेलले जानकारी दिनुभयो । मकालु, शिलिचोङ, चैनपुर र भोटखोला गाउँपालिकामा साक्षरता प्रतिशत नपुगेको पोख्रेलले बताउनुभयो । सो स्थानीय तहहरुमा पनि साक्षरता शिक्षा दिईरहेकोले आगामी चैत महिनाभित्र सङ्खुवासभालाई साक्षर जिल्ला घोषणा गरिने उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार