खाँदबारी । कोशी राजमार्ग अन्तर्गत खाँदबारी–नुम सडक खण्डमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका–१७ बालग्राम निवासी ६० वर्षीय छुथरूङ मुसहर रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मुसहर विगत केही महिनादेखि खाँदबारी नगरपालिका–४ स्थित शर्मा एवं शिवशक्ति कम्पनीको ब्यारेकमा बस्दै आएका थिए । बुधबार राति खाना खाएर सुतेका मुसहरलाई अचानक खोकी लागेर स्वास्थ्य अवस्था बिग्रिएको थियो ।
त्यसपछि उनका छोरा शिव मुसहरले उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा, खाँदबारी पुर्याएका थिए । अस्पतालमा भर्ना गरिएका मुसहरलाई बिहीबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्। उनी सोही कम्पनीमा मजदुरी गर्दै आएका थिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया