चिनिया ब्यापारीले नेपालीलाई नै बेच्छन् कृतिम आकारको रुद्राक्ष



नेपालमा पहाडी जिल्लाहरुबाट उत्पादन सुरु गरिएको रुद्राक्ष विक्रि वितरण कहिलेदेखि भयो भन्ने यकिन छैन । पहिले धार्मिक आस्थाका आधारमा मन्दिर, बिहार, गुम्बा लगायतमा यसको माला बनाएर चढाउने चलन थियो । विभिन्न जपतपका लागि पनि यसको प्रयोग गरिन्छ । रुद्राक्षको विषयमा जानकारहरुका अनुसार १ देखि ३ र ७ भन्दा धेरै मुख भएको मुखिदार दाना थोरै मूल्यमा किनबेच हुन थाल्यो । १–३ र ७–१५ मुखि रुद्राक्षको थोरै मूल्यमा विक्रि वितरण सुरु भयो । यो भन्दा धेरै मुखका रुद्राक्ष अलि धेरै मूल्यमा बिक्रि हुने गरेको बताइन्छ । जुन बेला खरिद गरिएका र बिक्रि गरिका रुद्राक्षहरु पशुपति क्षेत्र, बराह क्षेत्र, अर्जुन धारा लगायतका धाममा बस्ने पुजारी, साधु, सन्त, जादुगर र धनी व्यक्तिहरुले माला र ध्यान जपमा प्रयोग गरेको बताइन्छ । नेपालमा उत्पादीत मुखदार रुद्राक्ष छिमेकी मुलुक भारततर्फ विक्रि हुन थालेपछी यसको मूल्य पनि बृद्धी हुन थाल्यो । सुरुमा धेरै मूल्य नतोकिए पनि कम उत्पादनका कारण क्रमश मूल्य बढेको हो । प्राय ४, ५ र ६ मुखका रुद्राक्ष धेरै उत्पादन हुने भएकाले विक्रिका लागि चल्ती मानिएका मुखिदार कम उत्पादन भएकाले यसको परिमाण थोरै रहेको थियो । जुनबेला रुद्राक्षका ब्यापारीहरु समेत सिमित थिए ।

करिब ७ वर्ष अघिदेखि छिमेकी मुलुक चीनले समेत रुद्राक्ष खरिद गर्न थालेपछी यसको मूल्य आकासिएको हो । भारत र चीन दुवैले यसको खरिद गर्न थालेपछि रुद्राक्ष बहुमूल्य बन्यो । चीनले रुद्राक्षको व्यापार सुरु गरेदेखि झन्डै ४ वर्ष उत्पादन भए जति अर्थात भारतले खरिद नगर्ने ५, ६ र ७ मुख भएका समेत खरिद गरे । उत्पादन भए जति बिक्रि हुने भएपछि कृषकहरुले समेत यसबाट राम्रो आम्दानी गरे । भारतले खरिद नगरेका र कुहिएर खेर जाने रुद्राक्षको समेत प्रतिगोटाका दरले र प्रतिकेजीको हिसाबले रुद्राक्षको मूल्य पाएपछि कृषकहरुको मूख्य आम्दानीको स्रोत बनेको थियो भने रुद्राक्ष व्यवसायिहरु पनि उसै गरी लाभाम्वित भए । तर चिनिया व्यापारी नै कृषकको घरघरमा पुगेर रुद्राक्ष खरिद गर्न थाले पछि स्थानीय व्यापारीहरुलाई समस्या भएको थियो । कृषकबाट खरिद गरेर चिनियाँ र भारतीय व्यापारीलाई बिक्रि गरेर स्थानीय व्यापारीहरुले नाफा कमाउने गरेका थिए । तर चिनियाँ र भारतीय व्यापारीहरुले कृषक सामु पुगेर रुद्राक्ष खरिद गरेपछी स्थानीय व्यापारीहरुको नाफा लिने ठाउँ नपाएपछि उनीहरुलाई गाउँगाउँ जानबाट रोक्न स्थानीय व्यापारीहरुले विरोध समेत गरेका थिए । तर स्थानीय व्यापारीले भन्दा धेरै मूल्य चिनियाँ र भारतीय व्यापारीहरुले थाले पछि कृषकहरु खुशि भएका थिए ।

आकार र प्राकृतिक स्वारुप बिगारेर उत्पादन गरिएको रुद्राक्ष उनीहरुले चीनमा बिक्रिका लागि लगे पनि उक्त रुद्राक्ष चिल्लो नभएपछि चीनमा यसको ब्यापार खासै फस्टाएन । तत्पश्चात् चीनियाँहरुले त्यसरी उत्पादन गरेको रुद्राक्ष नेपालमा नै प्रति दाना दुई सय रुपैंयाले बिक्रि गर्न थाले ।

सरकारलाई कर तिरेर व्यवसाय गरेका व्यापारीहरुले चिनियाँ र भातिय व्यापारीहरु कर नै नतिरी गाउँमा पुगेर रुद्राक्ष खरिद गरेपछी आफूहरुलाई समस्या भएको भन्दै स्थानीय व्यापारीहरुले विरोध गरेका थिए । विरोधपछि उनीहरुलाई गाउँगाउँ पुगेर रुद्राक्ष खरिद गर्न रोक लगाइएको थियो । उनीहरुका लागि सदरमुकाम खाँदबारी बजार खरिद केन्द्रका रुपमा तोकिएको थियो । जुन नेपालकै सबै भन्दा ठूलो रुद्राक्ष व्यापारी केन्द्र हो । यहाँ भोजपुर र संखुवासभामा उत्पादन भएका रुद्राक्ष बिक्रिका लागि खाँदबारी नै ल्याउने गरिन्छ । चिनियाँ तथा भारतीय व्यापारीहरुले खरिद गरी जम्मा गरेर तुम्लिङटार विमान स्थलदेखि काठमान्डौ पु¥याउने भएकाले सबै व्यापारी र रुद्राक्ष भेला गर्ने भएकाले पनि यो ठूलो व्यापारीक केन्द्र हो ।

रोपेपछी वर्षमा एकपटक मात्र फलको आश गर्नु पर्ने र अरु खेती व्यवसायमा जस्तो स्याहार गोडमेल गरिरहनु नपर्ने भएकाले कृषकहरु रुद्राक्ष व्यवसाय प्रति आकर्षित भएका हुन् । तर यसरी रुद्राक्षबाट मनग्ये आम्दानी गरिरहेका कृषकहरुलाई रुद्राक्ष बिक्रि गर्दाको समयसम्म जोगाउन पनि उत्तिकै मुस्किल छ । रुद्राक्षको फूल खेल्न सुरु गरेदेखि करिब १० महिना कृषकहरुलाई निकै समस्या छ । ंचैत्र, वैशाखमा हावाहरी र असिना पानीले यसको फूल झार्ने र खडेरी पर्दा फूल सुक्ने समस्या हुन्छ । दाना छिप्पीएसंगै चोरीका घटना बढ्ने भएकाले किसानहरुलाई रुद्राक्ष जोगाउन निकै मुस्किल परेको बताउँछन् । यस्तो समस्या बढेकाले प्राय किसानहरु रुद्राक्ष व्यवसायिलाई ठेक्का दिने गर्छन् । रुद्राक्ष टिप्नलाई रुख चढेर जोखिममा पर्नु, चोरीबाट जोगाउनु, प्रतिकुल मौसमको मारमा पर्नु भन्दा ठेक्का लगाएपछी समस्या नपर्ने किसानहरु बताउँछन् । रुद्राक्षको बगान लगाएका किसानहरुले मोटो रकम लिने गर्छन् भने सामान्य ४/५ रुख भएकाहरुले ५० हजार भन्दा माथि रकम लिने गरेका छन् । यसमध्ये पनि गुणस्तरीय र मुखदार रुद्राक्ष फल्ने गरेकोमा करडौं रुपैंया ठेकेदारहरुले तिर्ने गरेका छन् । कतिपय ठेकेदारहरुले गुणस्तरीय रुद्राक्ष फल्ने बोटलाई ३ भन्दा धेरै वर्षका लागि ठेक्का लगाउने गरेका छन् ।

चिनियाँ व्यापारीले बोटमा फलेजति रुद्राक्ष खरिद गरेपछी यसरी ठेक्का लिएका ठकेदारहरुले राम्रै आम्दानी गरेका थिए भने किसानहरुले समेत रुद्राक्षलाई मूख्य आम्दानीको स्रोत बनाए । चिनीयाँ व्यापार बढेसंँगै किसानले गुणस्तरीय रुद्राक्ष फल्ने एक रुख बराबर एक करोड भन्दा धेरै लिएका थिए । चिनीयाँ व्यापारीले गुणस्तरीय रुद्राक्षको रुपमा चिल्लो, थेप्चे, मुडे, मदाने, कण्ठे र ठूलो आकारका रुद्राक्षलाई लिएका थिए । यस किसिमका रुद्राक्ष फल्ने बोट र रुद्राक्षलाई उनीहरुले महँगो मूल्य तिर्ने गरेका थिए ।

हालसम्म सबैभन्दा धेरै मुखदार रहेको २७ मुखे रुद्राक्ष भोजपुरमा फलेको रुद्राक्ष व्यवसायि संघ भोजपुरका अध्यक्ष सुरेश चाँपागाईँले बताए । तर भोजपुरमा वार्षिक कति उत्पादन हुन्छ र कति मूल्य बराबरको कारेबार हुन्छ भन्ने तथ्याङ्क कोही कसैसंग नभएको बताए । उनले भन्सारमा समेत यसको परिमाणको बारेमा तथ्याङक नभएको जनाए । संखुवासभामा पनि यसको परिमाण र आम्दानी रकमको विषयमा जानकारी नभएको रुद्राक्ष व्यवसायि संघ संखुवासभाका अध्यक्ष चक्र विशुंकेले बताए ।

अब रुद्राक्षको खरिद बिक्रिको सुरसार हुन लागेको छ तर अहिले जिल्ला समन्वय समितिले नवीकरण गर्नेकी स्थानीय तहले भन्नेमा अन्यौल देखिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये पाँचखपन नगरपालिका रुद्राक्षको मूख्य उत्पादन क्षेत्र मानिन्छ । नगरपालिकाका मेयर विपिन राईका अनुसार यसै वर्षदेखि पाँचखपनले ‘लाइसेन्स’ वितरण कार्य सुरु गर्नेछ । लाईसेन्स वितण नगरपालिकाको मूख्य राजस्व संकलन गर्ने स्रोत मानिएको छ । रुद्राक्ष बिक्रि वितरणको समय सुरु हुन लाग्दा समेत लाइसेन्स नवीकरणका लागि व्यवसायिहरुले चासो राखेका छैनन् । रुद्राक्षको मूल्य राम्रो भएका वर्षहरुमा यतिबेला व्यवसायिहरुको खाँदबारीमा ठूलै जमघट हुने गथ्र्यो । यतिबेलासम्म रुद्राक्षको मूल्य घट्ने या बढ्ने टुंगो नभएका कारण व्यवसायिहरु मौन छन् ।

माग भन्दा उत्पादन धेरै भएकाले रुद्राक्षमा ह्रास आएको व्यवसायिहरु बताउँछन् । रुद्राक्षको मूल्य बढेसंगै यसको खेती गर्नेहरुको संख्या पनि बृद्धी भएको हो । यसरी अत्याधिक उत्पादनले गर्दा मूल्यमा गिरावट आएको हो भने जलवायु परिवर्तनका कारण गुणस्तरीय रुद्राक्ष उत्पादन नहुँदा समेत यसको मूल्य घटेको व्यवसायि चित्रबहादुर श्रेष्ठ बताउँछन् । नेपालमा उत्पादित रुद्राक्ष छिमेकी मुलुक चीन र भारतमा मात्र विक्रि वितरण हुने गरेको छ । जसमा ५ र ६ मुखे रुद्राक्ष चीन तर्फ विक्रि वितरण गरिन्छ भने अन्य ठूला मुखदारहरु भारत तर्फ निर्यात गरिन्छ । निश्चित बजारका कारण अन्य मुलुकमा निर्यात गर्न नसक्दा पनि मूल्य घटिरहेको व्यवसायि देवराज पुरीले बताए । ठूलो परिमाणमा रुद्राक्षको उत्पादन भएपनि यसको थोरै माग भएकाले मूल्यमा सुधार नभएको हो ।

गत वर्ष चिनियाँ व्यापारीले चैनपुर नगरपालिकाको लोहाकोटमा एक कृषकको रुद्राक्ष बगान ठेक्का लिएर रुद्राक्षको कृत्रिम आकार निर्माण गरेका थिए । उनीहरुले आवश्कता अनुसार चेप्टो र थेप्चे कृत्रिम आकार निर्माण गरेका हुन् । यसरी आकार र प्राकृतिक स्वारुप बिगारेर उत्पादन गरिएको रुद्राक्ष उनीहरुले चीनमा बिक्रिका लागि लगे पनि उक्त रुद्राक्ष चिल्लो नभएपछि चीनमा यसको ब्यापार खासै फस्टाएन । तत्पश्चात् चीनियाँहरुले त्यसरी उत्पादन गरेको रुद्राक्ष नेपालमा नै प्रति दाना दुई सय रुपैंयाले बिक्रि गर्न थाले । चेप्टो र ठूलो आकार चीनमा बिक्रि भइरहेकाले यहाँका व्यापारीहरुले खोजी खोजी किन्न थाले । तर चीनमा बिक्रि नभएको रुद्राक्ष उनीहरुले नै नेपालमा बिक्रि गरिरहेको नेपाली व्यापारीलाई थाहा नभएको कुमार अनुरागीले बताए । कत्रिम उत्पादन नेपालीलाई बिक्रि गरेर नेपालीले चिनियाँ ब्यापारीलाई बिक्रि गर्नु पर्नेमा चिनियाँ ब्यापारीले नै नेपालमा बिक्रि गरेपछि उक्त रुद्राक्ष खरिद बिक्रि नभएपछि मूल्यमा झनै गिरावट आएको अनुरागीले बताए ।

अहिले चिनियाँ व्यापारीहरु खाँदबारीमा नै रुद्राक्षका विभिन्न गहनाहरु बनाउन थालेका छन् । संखुवासभा र भोजपुरबाट संकलन गरेको रुद्राक्ष उनीहरुले खाँदबारीमा घर भाडामा लिएर कामदार सहित राखेर विभिन्न सजावटका सामान उत्पादन गरिरहेका छन् । पहिले नेपाली व्यापारीले चीनमा विक्रि वितरण गरिरहेको रुद्राक्ष अहिले चिनीयाँ व्यापारीले नै नेपालमा बिक्रि वितरण गरिरहेको छ । उनीहरुले रुद्राक्षबाट सजावटका सामाग्री, गहना, ब्याग, माला, ब्रास्लेट निर्माण गर्छन् र महँगो मूल्यमा नेपालमा नै बिक्रि गर्छन ।

नागरिक दैनिकबाट

सम्बन्धित समाचार